राजस्थानस्थित नेशनल ल युनिभर्सिटिमा नेपाली न्यायिक अधिकारीहरुको प्रशिक्षण
सोमबार, फागुन १९, २०७६ मा प्रकाशित

राजस्थान, फागुन १९ : नेपालको सर्वोच्च अदालतका ३० न्यायिक अधिकारीको पहिलो ब्याचले भारतको जोधपुर राजस्थानस्थित नेशनल ल युनिभर्सिटिमा ‘मुद्दा मामिला तथा अदालत व्यवस्थापन’ बारे ७ दिने प्रशिक्षण शुरु गरेका छन् । सर्वोच्च अदालतकै ३० न्यायिक अधिकारीको दोस्रो ब्याचले चैत १० देखि १६ गते सम्म सोही विषयमा प्रशिक्षण लिनेछन्।

नेपाल सरकारको अनुरोधमा तयार पारिएको यो एक विशेष कोर्ष हो । न्यायलयको प्रशासनमा सूचना र सञ्चार प्रविधिको प्रयोग तथा मुद्दा तथा अदालत व्यवस्थापन सम्बन्धि मामिलालाई प्रभावकारी ढङ्गबाट समाधान गर्न यो कोर्षले अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्नेछ । भारत सरकारको सहयोगमा सञ्चालित यस कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग अन्तर्गत रहेको छ । कानून सम्बन्धि सिकाई, बुझाई, अनुसन्धान तथा ज्ञानको विस्तारमा परिचित सो प्रतिष्ठित विश्वविद्यालयमा नेपाली अधिकारीले प्रशिक्षण लिइरहेका छन् ।

अन्तर्राष्ट्रिय कानून संस्था तथा विज्ञहरुबाट प्रशंसा बटुल्न सफल यस विश्वविद्यालयले कानूनी अनुसन्धान एवं कर्पोरेट कार्य संस्कृतिमा रहेका जटिलतालाई बुझी शैक्षिक/कर्पोरेट विषयमा वैकल्पिक अध्ययनको विकास गर्ने अग्रगामी कार्य गरेको छ । नेपालमा क्षमता विकासका लागि भारतको निरन्तर प्रतिबद्घता अनुरुप भारतीय राजदूतावासले चालू आर्थिक वर्षमा २०० भन्दा बढी नेपाली अधिकारीलाई रुड्कीस्थित भारतीय प्रौद्योगिक संस्थान, गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटि, देहरादुनस्थित भारतीय सुदूर संवेदन संस्थान, नयाँ दिल्लीस्थित भारतीय जन संचार संस्थान, बेङ्गलुरुस्थित भारतीय विज्ञान संस्थान जस्ता विविध भारतका प्रतिष्ठित प्रशिक्षण संस्थामा प्रशिक्षण दिलाएको छ । काठमाडौं, नेपाल २०७६ फाल्गुण १९

प्रतिक्रिया

सम्बन्धित खवर