न्यायिक समिति हाँक्दै महिला
सोमबार, फागुन २६, २०७६ मा प्रकाशित

भीमदत्तनगर, फागुन २६  : नौ स्थानीय तह रहेको कञ्चनपुरमा न्यायिक समितिको नेतत्व भने प्रायः सबै तहमा महिलाले नै गरेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आइसके पनि गठन भएका न्यायिक समितिमा नगर तथा गाउँपालिकाका उपप्रमुख र उपाध्यक्षले न्यायिक समितिको संयोजक रहने व्यवस्था भएसँगै गाउँघरमा हुने झैझगडादेखि घरेलु हिंसा, जग्गाको सिमाना विवादलगायतका विषय स्थानीय तहमै टुंगिने क्रम बढिरहेको छ ।

कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सुशीला चन्द सिंहले न्यायिक समितिमा हाल जग्गाको सिमाना विवादका उजूरी बढी संख्यामा आइरहेका बताए । लैंगिक विभेद तथा महिला हिंसाका घटना अझै विभिन्न खाले समस्या निम्तीन सक्ने डरले पनि उजूरी कम संख्यामा परिरहेको देखिन्छ, उनले भने, ‘धेरै मुद्दा हामीले नै मिलापत्र गराएर समाधान गरेका छौं ।

उनले भीमदत्तनगरपालिकाले १९ वटै वडामा मेलमिलापकर्ता छनोट गरिसकेको बताउँदै सबै वडामा मेलमिलाप केन्द्र स्थापनाको प्रक्रियामा रहेको जानकारी दिए । यहाँका कतिपय स्थानीय तहमा रहेका न्यायिक समितिमा उजूरी बढिरहेका भए पनि छुट्टै इजलास कक्ष नहुँदा कार्यसम्पादनमा समस्या भइरहेको गुनासो पनि छ । न्यायमा आम नागरिकको पहुँच पुर्याउने उद्देश्यले पनि स्थानीय तहमा न्यायिक समिति गठन गरिएका हुन ।

 

त्यसैगरी यहाँको कृष्णपुर नगरपालिकाका उपप्रमुख रमिता रानाले घरेलु  तथा लैंगिक हिंसाका उजूरी बढिरेहका बताए । जग्गाको विषयमा विवाद हुँदा पनि स्थानीयवासी समाधानका लागि यहाँ आउँछन्, उनले भने, ‘धेरै विवाद स्थानीय तहमै मिल्दा स्थानीयवासी खुशी छन् । उनले बहुविवाहका उजूरी आए पनि कार्यकक्षेत्रमा नपर्ने बताए । पूर्वाधार विकास अभावका कारण इजलास कक्ष नभएको उल्लेख गर्दै उनले नयाँ भवनमा कार्यालय सरे सो समस्या पनि समाधान हुने बताए ।

 

त्यसैगरी महाकाली नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक चिनी ओझा गिरीले इजलास कक्ष भए काम गर्न सहज हुने बताए । बेदकोट नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सुशीला सिंहले अझै महिला आफूमाथि भइरहेको हिंसा र विभेद बाहिर ल्याउन नसकिरहेका बताए । बेदकोटले वडास्तरसम्म महिला शक्ति सञ्जाल गठन गरेको बताउँदै सोही सञ्जालमार्फत पनि समस्यामा परेका महिला न्यायिक समितिसित पुग्ने गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर