आमाको चौरासीमा छोरीले बनाइन् पदमार्ग
सोमबार, फागुन २६, २०७६ मा प्रकाशित

गलकोट, फागुन २६  : बागलुङ जिल्लाको गलकोट नगरपालिका५ टेउवामा निर्माणाधीन खुला मूर्तिकला संग्रहालय परिसरमा व्यक्तिगत लगानीमा पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिका५ हरिचौर हिस्लाङ निवासी चित्राकुमारी श्रीषको ८४ वर्षगाँठका अवसरमा उनीकी छोरी शान्तिले हरिचौरको टेउवामा पदमार्ग निर्माण गर्नुभएको हो ।

तीन लाख ११ हजार १०० को लागतमा झण्डै ५० मिटरको स्लेट ढुंगाले बिछ्याइएको रेलिङसहितको आकर्षक पक्की पदमार्ग बनाइदिएको शान्ति श्रीषले जानकारी दिए । आमाको चौरासी वसन्त पूरा भएको अवसरमा स्मरणयोग्य काम गर्न खोजेका थिए, श्रीषले भने, ‘आफ्नै गाउँमा बन्न थालेको संग्रहालयमा पदमार्ग आवश्यक देखेर निर्माण गरिदिएको हुँ । गलकोटको टेउवामा निर्माणाधीन खुला मूर्तिकला संग्रहालय परिसरमा पुग्ने पर्यटकलाई लक्षित गरी व्यक्तिगतरुपमा प्राप्त सहयोगले पर्यटकीय पदमार्ग निर्माण गरिएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए ।

 

टेउवामा निर्माणाधीन खुला संग्रहालय निर्माण गर्नका लागि यहाँका स्थानीयले विभिन्न सहयोग प्रदान गर्ने क्रममा शान्ति श्रीषले आकर्षक पदमार्ग निर्माण गरिदिएको थापाको भनाइ रहेको छ । बागलुङ जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल घुम्टेको काखमा रहेको टेउवामा खुला संग्रहालयका लागि विभिन्न संरचना निर्माण भएपछि अहिले स्थानीय तथा बाह्य पर्यटकको संख्यासमेत वृद्धि हुन थालेको छ । यही फागुन ५ गतेदेखि २१ गतेसम्म टेउवामा १० विदेशी र पाँच नेपाली गरी १५ मूर्तिकारले प्रकृति, भावना, संस्कार र संस्कृति समेटिएका १५ मूर्ति निर्माणसमेत गरिसकेका छन् । निर्माण भएका मूर्ति खुला संग्रहालयमा स्थापना गरिसकेपछि पर्यटकको आगमनमा वृद्धि हुने खुला संग्रहालय निर्माण गरिरहेको गलकोट कला प्रतिष्ठानले जनाएको छ ।

 

यस स्थानमा पुग्नका लागि सहजरुपमा सडक, पैदलमार्र्ग, होटल तथा रेष्टुरेन्टको सुविधा भएमा पर्यटकलाई आकर्षित गर्न सकिने सरोकारवाला बताउँछन् । स्थानीयले निःशुल्करुपमा प्रदान गरेको २३ रोपनी क्षेत्रफलमा फैलिएको निर्माणाधीन खुला संग्रहालयमा अहिले पूर्वाधार निर्माण भइरहेका छन् । यस क्षेत्रमा शौचालय, स्नान घर, पदमार्ग, खानेपानी र तारबारलगायतका संरचना निर्माण भएका छन् । आगामी असारसम्म मूर्तिकला कार्याशालाबाट निर्माण गरिएका मूर्तिलाई खुला संग्रहालयमा स्थापना गरिने प्रतिष्ठानले जनाएको छ ।

 

विसं २०७३ मा स्थापना भएको प्रतिष्ठानले हालसम्म संघ, प्रदेश तथा गलकोट नगरपालिकाको सहयोगमा एक करोड ५० लाख बराबरको संरचना निर्माण गरिसकेको छ । खुला संग्रहालयलाई पूर्ण रुप दिनका लागि १२ करोड खर्च लाग्ने विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । डिपिआरको योजनाअनुसार टेउवामा खुला संग्रहालयसँगै अनुसन्धान केन्द्र, अन्तरराष्ट्रिय सेमिनार हल, शीतल बाटिकालगायतका संरचना निर्माण हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर