बुद्धमंगल ताल ओझेलमा
सोमबार, फागुन २६, २०७६ मा प्रकाशित

नवलपरासी, फागुन २६  : पश्चिम नवलपरासीको  बर्दघाट नगरपालिका१२ जहदास्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेका बुद्धमंगल ताल अहिले संरक्षण तथा प्रचारप्रसारको अभावमा ओझेल परेको छ । बुद्धसँग सम्बन्धित ताल जसका विभिन्न विशेषता छन् । बुद्धले त्रिवेणीधाम र लुम्बिनी आवतजावत गर्ने क्रममा बाटोमा पर्ने यस तालको पानी खाएर र एक रात बिताएर मात्र आउने जाने गर्ने गरेको धार्मिक कथन रहेको पाइन्छ ।

 

करिब १० देखि १२ बिघा क्षेत्रफलमा फैलिएको ताल वर्षांैदेखि अतिक्रमणको चपेटामा परेर अहिले सात बिघाहा चार कठ्ठा क्षेत्रफलमा सीमित भएको छ । ताल संरक्षण तथा व्यवस्थापनको अभावमा ओझेलमा पर्दै गएपछि पछिल्लो पटक नगरपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा तालको संरक्षण गर्ने कार्यमा लागेको छ ।

 

तालको संरक्षणको जिम्मा नगरपालिकाले लिएपछि प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा तालको व्यवस्थापन गर्ने काम भएको नगर प्रमुख धीरज शर्मा बस्यालले बताए । शान्तिका अग्रदूत भनेर संसारले मान्दै आएका गौतमबुद्धसँग सम्बन्धित यस तालका बारेमा कतिपयलाई जानकारीसमेत छैन । जानकारी भएकाले पनि संरक्षका लागि प्रभावकारी रुपमा आवाज उठाएको पाइदैन ।

 

यस तालको प्रचारप्रसार गर्ने तर्फ प्राथमिकताका साथ ध्यान पुग्न नसक्दा ताल संरक्षणको अभावमा ओझेलमा परेको छ । यस तालको विशेषतामध्ये ताल सुख्खा मौसममा पनि पानी हुने गर्दछ  । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने तालको व्यवस्थापनका साथै थप भौतिक पूर्वाधारको व्यवस्थापन गर्न सके स्थानीय पर्यटकसहित देशविदेशका पर्यटकलाई भित्र्याउने वातावरणको सिर्जना हुने बताइएको छ ।

 

ऐतिहासिक तालमा पर्यटक भित्र्याउने बाटो, भोजनालय, बासस्थान, पार्किंङ खानेपानीलगायतको पूर्वाधारको विकास गर्न आवश्यक रहेको स्थानीय  दीपक बरालले बताए । यस ताललाई विसं २०५० मा बुद्धमंगल ताल भनेर नामाकरण गरिएको बताइन्छ । धार्मिक मात्र नभइ पर्यटकीय दृष्टिकोणलेसमेत महत्पूर्ण रहेको सो ताल पूजाआजा, विवाह तथा अवलोकनका हिसाबले पनि महत्पूर्ण छ । तालको वरपर विभिन्न प्रजातिका चराचुरुंगी पाइने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर