बलेवा, फागुन २७ : गाउँमा स्वास्थ्य चौकी भवन निर्माण हुने भएपछि सर्वसाधारणले निःशुल्क जग्गा र नगद सहयोग गरेका छन् । बागलुङको बडिगाड गाउँपालिका–२ खर्वाङमा स्वास्थ्यचौकी निर्माणका लागि जग्गा र सहयोग जुटेको हो ।
खर्वाङको एक परिवारले आफ्ना मातापिताको स्मृतिमा तीन रोपनी जग्गा स्वास्थ्य चौकीका लागि निःशुल्क उपलब्ध गराएको छ । स्व जयलाल र हिरादेवी खरेलको स्मृतिमा उनीहरुका छोरा नरिश्वर, स्व अग्निधर, घनश्याम, तिलाराम र बाबुराम खरेलले स्वास्थ्यचौकी भवन निर्माणका लागि तीन रोपनी जग्गा उपलब्ध गराएका हुन । जग्गा अभावका कारण लामो समयदेखि स्वास्थ्य चौकी भवन निर्माणको काम रोकिएको थियो । जग्गा प्राप्त भएसँगै नयाँ भवन निर्माणको काम शुरु गरिने वडाध्यक्ष ढालेन्द्र शेरचनले बताए ।
स्वास्थ्यचौकी निर्माणका लागि स्वास्थ्य मन्त्रालयको एक वडा एक स्वास्थ्यचौकी कार्यक्रमअन्तर्गत चालू आवमा १३ लाख ५० हजार बजेट विनियोजन भई गाउँपालिकामा प्राप्त भइसकेको छ । जग्गा र बजेट दुवैको समस्या नरहेकाले तत्कालै निर्माण प्रक्रियासमेत अघि बढाइने गाउँपालिकाले जनाएको छ । जग्गा प्राप्त भएपछि स्थानीयवासीले सडक निर्माणको प्रक्रियासमेत अघि बढाएका छन् । स्वास्थ्य चौकी भवन निर्माणस्थलमा जाने सडक निर्माण तथा स्वास्थ्य चौकीको थप व्यवस्थापनमा सहज होस् भन्दै स्थानीयवासीबाट स्वःस्फूर्त चन्दा संकलन अभियान शुरु गरिएको छ ।
अभियानको पहिलो दिनमै स्थानीयवासी कृष्णप्रसाद खरेलले १७ हजार ७७७, खगिश्वर अर्यालले १६ हजार ६६६, विष्णु केसीले १५ हजार ५५५, दुर्गादत्त खरेलले १५ हजार, बाबुराम जिसीेले ११ हजार एक सय र गीता पोखरेलले ११ हजार एक सय आर्थिक सहयोग गरेका छन् । वडाभित्र रहेका सबै सामुदायिक वन, क्लब, आमा समूह लगायतलाई सहयोगका लागि अनुरोध गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख तथा बडिगाड–२ का स्थानीयवासी विष्णु भुसालले जानकारी दिए । स्वास्थ्य चौकी निर्माण भएपछि वडा नं २ लगायत आसपासका झण्डै पाँच हजार सर्वसाधारण लाभान्वित हुनेछन् ।
अभियानमा चुमाकान्त पोखरेलले १० हजार १०५, मेलमिलाप आमा समूह दनिया बयरवोटले १० हजार एक सय, नन्दराम खरेलले १० हजार, ढालमणि भण्डारीले १० हजार, विष्णुप्रसाद भुसालले १० हजार, हरिबहादुर घिमिरेले १० हजार, गनबहादुर श्रीसले आठ हजार चार सय, सूर्यबहादुर अधिकारीले पाँच हजार ५५५, कमल पौडेलले पाँच हजार एक सय पाँच, कृष्णकुमारी रानाले पाँच हजार १०५, गोमबहादुर रानाले पाँच हजार एक सय, रुकमान पुरीले पाँच हजार एक सय, खड्कबहादुर घर्तीले पाँच हजार एक सय, धनबहादुर बुढाले पाँच हजार एक सय, झलक थापाले पाँच हजार एक सय, मेघनाथ खरेलले पाँच हजार एक सय, सुमित्रा पुरीले पाँच हजार एक सय, मनबहादुर थापाले पाँच हजार एक सय, ढालप्रसाद शेरचनले पाँच हजार, नरी रानाले पाँच हजार र शान्ति रानाले पाँच हजार सहयोग गरेका छन् ।