जलेश्वर, चैत ६ : महोत्तरी सदरमुकाम जलेश्वरमा विहिबारदेखि लोकल खुला मदिरा बेचबिखनमा प्रतिबन्ध लगाइएको छ । एक साताअघि लोकल खुला मदिराको सेवनबाट धनुषामा १७ जनाको मृत्यु भएकाले प्रशासनले सरोकारवालासँग बसेर निर्णय गर्दै विहिबारदेखि जलेश्वर नगरपालिका र वरपरका सबै बजारमा लोकल खुला मदिरा बिक्री वितरण तथा उत्पादनमा पूर्ण रुपले प्रतिबन्ध लगाइएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
धनुषामा १७ जनाको ज्यान जानुका साथै जिल्लाकै मनरा नगरपालिका– १ मा विगत तीन दिनमा अचानक पाँच जनाको मृत्यु भएकामा ती मृत्यु पनि मदिरा सेवनबाटै भएको हुनसक्ने आशंका गर्दै जलेश्वर र वरपरका सबै हाट बजार तथा गाउँ टोलमा विहिबारदेखि लोकल खुला मदिरा बिक्रीवितरण तथा उत्पादनमा प्रतिबन्ध लगाइएको हो ।
प्रशासनिक प्रतिबन्धकाबीच लुकाइछिपाइ वा बेवास्ता गर्दै कुनै पनि होटल, व्यवसायी, उत्पादक वा सेवाग्राही समेतले खुला मदिरा बेचेको, उत्पादन गरेको, ओसारपसार गरेको वा सेवनसमेत गरेको पाइएमा कडाभन्दा कडा कानूनी कारवाही गर्ने निर्णयसमेत भएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।