विदेशको कमाइले स्वदेशमा कागती खेती
शनिबार, चैत ०८, २०७६ मा प्रकाशित

नारायणपुर, चैत ८ : तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा एक युवाले व्यावसायिक कागती खेती गरेका छन् । रुकुम खारा स्थायी घर भई विजौरीमा बस्दै आउनुभएका रामचन्द्र खड्काले २२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक कागती खेती शुरु गरेका हुन् । वार्षिक ५० हजारका दरले जग्गा भाडामा लिई व्यवसाय शुरु गरेका खड्कालाई शुरु शुरुमा गाउँलेले नै पत्याएका थिएनन् । कागतीले आम्दानी दिन थालेपछि अहिले गाउँले पनि कागती किन्न र हेर्न आउन थालेका छन् ।

दुई वर्ष पहिले लगाएको कागतीले अहिले उत्पादन दिइरहेको छ । भर्खरै १५ क्विन्टल कागती प्रतिकेजी १२० का दरले बिक्री गरेको खड्काले जानकारी दिए । चटपटे बनाउनेदेखि बजारका तरकारी पसले उनका ग्राहक हुन् । गाउँघरमै सानोलाई १० र ठूलोलाई १५ प्रतिगोटाका दरले पनि बिक्री भइरहेको खड्का बताउँछन् । घर परिवारका पाँचले नियमित काम गरिरहे पनि कहिलेकाहीँ चार÷पाँच कामदार लगाउनुपरेको उनले बताए ।

कागतीको बिरुवा भारतबाट प्रतिबोट २५० मा किनेर ल्याएका खड्का यो कुन जातको कागती हो भन्ने नै थाहा नभएको बताउँछन् । मकवानपुरमा यो जातको कागतीलाई एम १५ भन्ने गरे पनि कृषि विज्ञका अनुसार फरकफरक नाम भन्ने गरेको उनले बताए । रोजगारीका लागि दुईपटक मलेशिया र एकपटक अफगानिस्तान गएर आएपछि खड्काले व्यवसाय शुरु गरेका हुन् । छ वर्ष विदेश गएर कमाएको पैसा लगानी गरेर व्यवसाय शुरु गरेका खड्काले व्यवसायमा ७५ लाख लगानी गरेको बताए ।

विदेशमा गरेको दुःख सम्झेर नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोचले कृषि कर्म नै रोजेको उनले बताए । ‘नेपाली बजारमा सधँै प्रयोग हुने कागती भारतबाट आयात भएको बुझेर यहँ उत्पादन गर्दा बजारीकरणमा समस्या नहुने भएकाले कागती खेती नै रोजेको हुँ’, खड्काले भने । बिजौरीको २२ कट्ठाको खेतीबाट उत्पादन शुरु भएपछि खड्काले घोराही उपमहानगरपालिका–५ धर्नामा तीन बिघा जग्ग्ँ भाडामा लिएर कागती र माछापालन शुरु गरेका छन् । कागतीसँगै माछा, कुखुरा, केराखेतीसँगै भैँसी र बाख्रा पनि पालेका छन् ।

व्यवसाय शुरु गरे पनि सरकारबाट कुनै किसिमको सहयोग नपाएको उनले बताए । ‘बैंकको ऋण लिन पनि धितो चाहिने तर आफूसँग जग्गा जमिन नभएकाले साथीभाइसँग महँगोमा ऋण लिनुपरेको छ’, खड्काले भने । कृषि पेशाबाट मानिस पलायन भएर अन्य पेशा अपनाइरहेका समयमा खड्काले गरेको कृषिले सबैको मन लोभ्याउने गरेको छ । सरकारबाट अनुदान नपाइए पनि सहुलियत ऋणको व्यवस्था गरिदिए कृषि पेशामा आकर्षण बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर