मिलान, चैत १३ : विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण अहिले सबै भन्द आक्रान्त बनेको छ युरोपेली राष्ट्र इटाली र स्पेन । यससँगै विश्वभर अहिले प्राय सबै राष्ट्र लकडाउनमा गएका छन् ।
यो भाइरसबाट बढी प्रभावित शहर बनेको इटालीको बेरगामोका मेयर जर्जियो गोरीले युइएफए च्याम्पियन्स लिगमा एटलान्टा र भ्यालेन्सियाबीच मिलानको सानसिरोमा भएको खेलकै कारण इटाली र स्पेनमा कोरोना भाइरसले महामारीको रूप लिएको दावी गरेका छन् ।
‘युइएफए च्याम्पियन्स लिगमा एटलान्टा र भ्यालेन्सियाबीच मिलानको सानसिरोमा भएको खेल मानवीय जैविक बमजस्तै रह्यो । त्यतिबेला कसैले पनि अनुमानसमेत गर्न सकेन,’गेरीले भने, ‘यो खेल हेर्न झन्डै ४४ हजार दर्शक रंगशालामा उपस्थित थिए ।
४० हजार यसबाट संक्रमित भएको हुनु पर्छ । यो खेल हेरेपछि दुवै टिमका समर्थक आ–आफ्नो सहर फर्के र एकले अर्कोलाई भाइरस सार्ने काम गरे ।
साथै त्यहाका चिकित्सकहरुले पनि त्यही खेल नै इटली र स्पेनमा वास्तवमै जैविक बम भएको बताएका छन् ।इटालीमा फेब्रुअरी १९ सम्म कोरोना भाइरसका कारण कुनै पनि व्यत्तिको मृत्यु भएको थिएन ।
सो खेलको तेस्रो दिनमा मात्र पहिलो मृत्यु देखेको इटालीमा तीन साताको अन्तरमा मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ र बेरगामोमा मात्र ३ हजार ३३ को कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भइसकेको छ ।
अहिले भ्यालेन्सियाका अधिकांश खेलाडी र खेल पदाधिकारी कोरोना भाइरसकै कारण सेल्फ क्वारेन्टाइमा छन् । खेलमा क्रममा धेरै भन्दा धेरै समर्थक कोरोना भाइरसको संक्रमणमा आएको र समर्थकबाटै यो संक्रमण आफ्नो परिवारमा सारेको अनुमान गरिएको छ । भ्यालेन्सियाका समर्थककै कारण संक्रमण स्पेनमा फैलिएको समेत गेरीको दाबी छ ।
भ्यालेन्सियामाथिको जितपछि एटलान्टा पहिलोपटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको थियो ।
सो खेलपछि मात्र इटालीमा बन्द रंगशालामा खेल खेलाउन सुरु गरिएको थियो । त्यसको केही समयमा नै प्रधाानमन्त्रीको निर्देशनमा लिग सहित सम्पूर्ण खेल गतिबिधीमा प्रतिबन्धलगाइएको थियो । एजेन्सी