काठमाडौं, चैत २५ : इन्डियन प्रिमियर लिग (आईपीएल) का १२औं संस्करण पूरा भइसकेको छ । सन् २००८ बाट सुरु भएको आईपीएलको यो १३औं संस्करण हो । यस सिजनको आईपीएल हुने÷नहुने निश्चित छैन । तर, हालसम्म सम्पन्न आईपीएल संस्करणमा थुप्रै रेकर्ड बने । कैयौं खेलाडीले अनेकौं रेकर्ड बनाए र तोडे पनि ।
आईपीएलमा कैयौं रेकर्ड यस्ता पनि बने जुन तोड्न अन्य खेलाडीलाई मुस्किल पर्नेछ । क्रिस गेलको सबैभन्दा बढी रनदेखि अल्जारी जोसेफको उत्कृष्ट बलिङसम्मका रेकर्ड छन् । हेरौ आईपीएलका ती कुन–कुन रेकर्ड छन् जो तोड्न मुस्किल छन् ।
लगातार सबैभन्दा बढी खेल जित्ने रेकर्ड (कोलकाता नाइट राइडर्स)
कोलकाता नाइट राइडर्स आईपीएलमा सबैभन्दा सफल टिममध्येको एक हो । यस टिमको नाममा धेरै कीर्तिमानी छन् । जसमध्ये एक हो, लगातार सबैभ्नदा बढी खेल जित्नु । सन् २०१४–१५ को आईपीएलमा कलकाताले लगातार १० खेल जितेको थियो । यो आईपीएलको कुनै पनि टिमको लगातार जितेको रेकर्ड हो ।
कोलकाताको टिमले २०१४ को सिजनमा लगातार ९ खेल जित्दै आईपीएलको ट्रफी उचालेको थियो । त्यसपछि अर्को सिजन २०१५ को सुरुवाती खेल जितेको थियो । दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले कोलकातालाई पराजित गर्दै लगातारको जितमा पूर्णविराम लगाइदिएको थियो ।
उत्कृष्ट बलिङ आँकडा (अल्जारी जोसेफ)
सन् २००८ को पहिलो सिजनको आईपीएलमा राजस्थान रोयल्सका तीव्र गतिका बलर सोहेल तनवरले ४ ओभरमा मात्र १४ रन खर्चंदै ६ विकेट लिएका थिए । उनको यो रेकर्ड ११ वर्षसम्म कायम थियो । ११ वर्षसम्म आईपीएलमा कुनै पनि खेलाडी योभन्दा उत्कृष्ट बलिङ गर्न सकेका थिएनन् ।
तर, सन् २०१९ को आईपीएलमा उनको रेकर्ड तोडिएको थियो । मुम्बई इन्डियन्सबाट खेल्ने तीव्र गतिका बलर अल्जारी जोसेफले सोहेलको रेकर्ड तोडेका थिए । अल्जारीले सनराइजर्स हैदरावादविरुद्धको खेलमा ३.४ ओभर बलिङ गर्दा एंव ओभर मेडन राख्दै मात्र १२ रन खर्चेर ६ विकेट लिएका थिए । आईपीएलमा यो रेकर्ड तोड्न कुनै पनि बलरलाई धेरै मुस्किल पर्ने छ ।
एक पारीमा सर्वाधिक रन (क्रिस गेल)
आईपीएलमा मात्र नभई टी–ट्वान्टी क्रिकेट इतिहासमै एकै पारीमा सर्वाधिक रन बनाउने खेलडीको रेकर्ड क्रिस गेलको नाममा छ । उनले सन् २०१३ को आईपीएलमा पुने वारियर्स इन्डियाविरुद्ध रोयल च्यालेन्जर्स बेंग्लोरबाट खेल्दै १७५ रन जोडेका थिए ।
उनले मात्र ६६ बल खेल्दै १३ चौका र १७ छक्काको मद्दतमा १७५ रनको उत्कृष्ट पारी खेलेका थिए । उनको यो रेकर्ड तोड्न कुनै पनि खेलाडीका लागि असम्भव जस्तै छ ।
सर्वाधिक रनको लक्ष्य (रोयल च्यालेन्जर्स बेंगलोर)
जुन खेलमा क्रिस गेलले उत्कृष्ट पारी खेलेका थिए । उक्त खेलमा आईपीएल इतिहासकै सर्वाधिक रनको लक्ष्य बनेको थियो । गेलले ६६ बलमा १७५ रन जोड्दा रोयल च्यालेन्जर्स बेंगलोरले पुने वारियर्स इन्डियालाई २६४ रनको लक्ष्य सुम्पेको थियो ।
रोयल च्यालेन्जर्स बेंगलोरले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ६३ रन जोडेको थियो । यो नै आईपीएलको इतिहासमा बनेको सर्वाधिक रनको लक्ष्य । जुन रेकर्ड तोड्न कुनै पनि टोलीलाई असम्भव छ ।
एक टिमको सबैभन्दा कम रन (रोयल च्यालेन्जर्स बेंगलोर)
यो एक यस्तो रेकर्ड हो । जुन अन्य कोही टोली तोड्न चाहँदैनन् । एकै पारीमा सर्वाधिक रन बनाउले टोलीको कीर्तिमानी बनाएको रोयल च्यालेन्जर्स बेंगलोरकै नाममा सबैभन्दा थोरै रन बनाउने टोलीको रेकर्डसमेत छ । रोयल च्यालेन्जर्स बेंगलोरले सन् २०१७ को सिजनमा कोलकाता नाइट राइडर्सविरुद्ध मात्र ४९ रन जोड्न सकेको थियो ।