काठमाडाैं, वैशाख ५ : गत वर्ष १५ देखि २४ मंसिरमा नेपालको काठमाडौं पोखरा र जनकपुरमा भएको १३ औं सागमा नेपालले ५१ स्वर्णसहित दुई सय सात पदक जित्दै भारतपछि दोस्रो स्थान हात पारेको थियो । प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई सरकारले दिने घोषणा गरेको पुरस्कार बुधबारदेखि खेलाडीको खातामा रकम जान थालेको छ ।
आफ्नै बैंक खातामा लाखौं रकम पुरस्कार जम्मा हुँदा खेलाडीहरु खुशी भएका छन् । ढिलै भए पनि सरकारबाट नगद पुरस्कार पाएको र त्यो पनि यस्तो त्रासको समयमा पाउँदा खेलाडीहरू धेरै खुशी भएका छन् ।
सागमा व्यक्तिगततर्फ स्वर्ण जित्नेले ९ लाख, रजत जित्नेले ६ लाख र कास्य जित्नेले ३ लाख पाएका छन् । यस्तै टिमतर्फ स्वर्ण जित्नेले ६ लाख, रजत जित्नेले ४ लाख र कास्य जित्नेले २ लाख प्राप्त गरेका छन् ।
एक भन्दा बढी स्वर्ण जित्नेले भने ११ लाखका दरले पुरस्कार पाएका छन् । सबैभन्दा धेरै पदक जितेकी पौडीबाज गौरिका सिंहले ६२ लाख पाउनेछिन् । उनले व्यक्तिगतमा ४ स्वर्ण र २ रजत तथा रिले इभेन्टमा ३ कास्य जितेकी थिइन् । अप्ठेरो समयमा पुरस्कार पाएकामा सरकार र सबै सरोकारवालालाई खेलाडीहरूले धन्यवाद दिएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले पदक जित्ने चार सय ३५ खेलाडीको लागि १९ करोड ५३ लाख रकम मात्र अहिले खातामा पठाएको हो । अब दोस्रो चरणमा प्रशिक्षक र खेल संघको पुरस्कार पठाउने जनाएको छ ।
सागमै पदक जिताउन मद्दत गर्ने प्रशिक्षकले भने सरकारले घोषणा गरेको पुरस्कार पाएका छैनन् । केही प्रशिक्षकको नाममा पेश्की रहेको भन्दै त्यो फर्छ्यौट भएपछि पुरस्कार रकम पठाउने राखेप र मन्त्रालयले जनाएको छ ।