काठमाडौं, वैशाख १० : नेपाली काँग्रेसका करिब एक दर्जन युवा केन्द्रीय सदस्यले सोमबार सरकारले जारी गरेका दुई अध्यादेश समयको संवेदनशीलता र परिस्थितिको गाम्भीर्यताअनुरुप नभएको उल्लेख गरेका छन् ।
काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, रत्ना शेरचन, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र सरिता प्रसाईंले आज एक वक्तव्यमार्फत मुलुक कोरोना भाइरस सङ्क्रमणको सङ्कटमा रहेका बेला संविधानको मर्मविपरीत जारी गरिएको आरोप लगाएका छन् ।
उनीहरुले जनता महामारीको त्रास र लकडाउनले सिर्जना गरेको कष्टकर दैनिकीबाट आक्रान्त रहेको परिस्थितिमा थप जिम्मेवारीबोधसहित सबैलाई एकताबद्ध गरी महामारीसँग जुध्नुपर्नेमा जोड दिएको छ । युवा नेताहरुले अध्यादेश फिर्ता लिन सरकारसँग मागसमेत गरेका छन् । साथै उनीहरुले कोरोना सङ्क्रमणको सङ्कटमा सुरक्षित रहेर सबैलाई कोरोनाविरुद्धको लडाइँमा निरन्तर लाग्न, साथ सहयोग गर्न सम्बन्धित सबैमा अपिल गरेका छन् ।