नेपालमा मध्यकालका महामारीको नालीबेली
आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित

काठमाडौं, वैशाख १४ : अहिले कोरोनाभाइरसको महामारीबीच हामी सबै लकडाउनमा छौँ। यस महामारीबाट विश्व नै आक्रान्त बनेको छ। विश्व इतिहासमा झण्डै प्रत्येक शताब्दीमा यस्ता ठुल्ठूला महामारीहरू देखिएका छन्-१७ र १८ औँ शताब्दीको ‘ग्रेट प्लेग’, सन् १९१८ तिर स्पेनी फ्लु, सन् १९८१ देखि एचआइभी/एड्स, र अहिलेको शताब्दीमा सार्स, मर्स, इबोला र हालै कोभिड-१९ ।

  • अभयमल्लका पालामा पनि महामारी दुर्भिक्ष भएको घटना वंशावलीमा छ, यसबेला प्रजाले कष्ट पाएको पनि उल्लेख छ। यो महामारी अरिमल्लकै पालादेखिको हो वा होइन भन्ने बारे वंशावलीमा स्पष्ट लेखिएको छैन।
  • वि.सं. १३८६ को महामारीलाई ‘कनि-मरक’ भनिन्छ, फागुन महिनाकाको यस महामारीका कारण (अर्को) भाद्रसम्म दिनको १०० जना जति मरेका थिए।

विश्व इतिहासमा विभिन्न महामारीबारे लेखिएको पाइन्छ। भौगोलिक तथा सामाजिक-आर्थिक कारणले नेपालमा ती महामारीको असर नेपालमा त्यति भएन र यसबारे उल्लेख पनि नेपाली इतिहासमा त्यति पाइन्न। भौगोलिक, व्यापारिक वा अन्य हिसाबले अलग समाज भएकाले पनि शायद त्यस्तो असर यसअघि त्यति देखिएन।

यसो भन्दैमा नेपालमा चाहिँ कहिल्यै महामारी नै नभएको भन्ने चाहिँ होइन। नेपालको इतिहासमा केही महामारीबारे उल्लेख पाइन्छ। विशेषतः ईश्वीको १४ औँ शताब्दीतिर लेखिएको मानिने गोपालराजवंशावली नामक हस्तलिखित ग्रन्थमा मध्यकालीन नेपाली महामारीको इतिहास उल्लेख छ।

हुन त वंशावलीलाई प्रामाणिक इतिहास मान्ने गरिँदैन, कारण वंशावलीकारले यसमा आ-आफ्नै किसिमले केही कुरा थपेका हुन्छन्। तर केही ग्रन्थ लेख्ने वा सार्ने कार्यलाई पवित्र मानिने हुँदा यसमा गल्ती हुँदैन भन्ने मान्यता पनि छ। गोपालराजवंशावलीका वंशावलीकारले आफूले देखेभोगेका कुरा टिपेका हुनाले यसलाई अलि प्रामाणिक चाहिँ मानिएका हुन्।

यस वंशावलीलाई ‘गोपालवंशादि प्राचीन राजवंशावली’ भनी क्याटालगमा शीर्षक दिइएको छ। यसको अगाडिका केही पानाहरू (पत्र १७ भन्दा अगाडि) र पछाडिका पानाहरू (पत्र ६३ भन्दा पछाडि) नभएकाले यो बीचको भाग मात्र अध्ययन भएको छ।

वंशावलीमा लेखिएका कुरामा केही विवाद हुन सक्ला, तर गोपालराजवंशावलीको मूल पाठसहित नेपालीमा विद्वान् धनवज्र वज्राचार्यले उल्था गरेको आधारमा यस लेखलाई यहाँ प्रस्तुत गरिएको छ। त्यस्तै राजाहरूको काल भने विाद्वान् काशीनाथ तमोटको ‘नेपालमण्डलया जुजुपिनि भोगवर्ष’ नामक लेखबाट साभार गरिएको छ-

११७१ सालमा बिफरको महामारी

नेपाल संवत् २३५ अर्थात् विक्रम संवत् ११७१ सालमा बिफरको महामारी फैलिएको कुरा गोपालराजवंशावलीमा (पत्र ३२) उल्लेख छ। सो वर्ष वसन्तदेवका छोरा श्रीभृङ्गदेवको जन्म भएको थियो। काशीनाथ तमोटको लेखमा यो वर्ष वा यसको आसपास वसन्तदेवको कुनै उल्लेख नै परेको छैन। उनको सूचीअनुसार भने नेपाल संवत् २३५ तिर शिवदेव/सिहदेव नामक राजा थिए र उनको शासनकाल सन् सन् ११००-११२३ अर्थात् ११५७ देखि ११८० सालसम्म थियो।

तर गोपालराजवंशावलीले यस साल बिफर फैलिएको धेरै मानिस मरेको उल्लेख गरेको छ। ‘टंडे खटल जुया हेतु …’ अर्थात् टंडेखटल भएको हुनाले बिफर फैलिएको भनी वंशावलीमा उल्लेख भएको छ, तर यसको अर्थ अहिलेसम्म कसैले लगाउन सकेको छैन।

यसका लागि ‘आलाच’ गरिएको भनी उल्लेख पनि पाइन्छ, तर यसको पनि अर्थ अझै स्पष्ट छैन। यसका शान्तिका लागि देवता स्थापना गरिएको र यसपछि महामारी फैलिन रोकिएको भन्ने वंशावलीमा लेखिएको छ।

अमृतदेवका पालामा महामारी (१३ औँ शताब्दीको पूर्वार्द्ध)

सङक्रमणकालका राजा अमृतदेवका पालामा महामारी दुर्भिक्ष (अनिकाल) भएको उल्लेख गोपाराजवंशावलीमा (पत्र २५) पाइन्छ। प्राचीन कालमा लिच्छवि शासनको अन्त र मध्यकालबीचको सङ्क्रमण कालका राजा अमृतदेवले सन् ११७५-११७८ सम्म अर्थात् १२३२ देखि १२३५ सालसम्म राज्य गरेका थिए।

उनको कालमा महामारी भएको मात्र उल्लेख पाइन्छ, यससम्बन्धी थप विवरण वंशावलीमा दिइएको छैन।

अरिमल्लका पालामा महामारी (१३ औँ शताब्दीको उत्तरार्द्ध)

मल्लकालका पहिलो राजा मानिन्छ, अरिमल्ल (सन् १२००-१२१६)। प्रारम्भिक मध्यकालमा उनको शासनकाल १२५७-१२७३ सालसम्म थियो।

उनको राज्यमा महामारी फैलिएको उल्लेख गोपालराजवंशावली (पत्र २५) मा पाइन्छ। महामारीसँगै दुर्भिक्ष (अनिकाल) पनि परेको वंशावलीमा उल्लेख गरिएको छ भने सो अनिकालका कारण एक द्रम्म (मुद्राविशेष)ले मात्र दुई कुरुवा चामल पाइने भएको थियो।

अभयमल्लका पालामा महामारी (१३-१४ औँ शताब्दी)

गोपालराजवंशावलीको पत्र २५ मै यस महामारीको बारेमा उल्लेख पाइन्छ। अरि मल्लपछिका राजा हुन् अभयमल्ल (सन् १२१७-१२५५)। उनको शासनकाल १२७४ देखि १३१२ सालसम्म थियो।

अभयमल्लका पालामा पनि महामारी दुर्भिक्ष भएको घटना वंशावलीमा छ, यसबेला प्रजाले कष्ट पाएको पनि उल्लेख छ। गोपालराजवंशावलीमै पत्र ३९ मा नेपाल संवत् ३५२ अर्थात् १२८९ सालमा भएको अनिकालको दुःखद् वर्णन पाइन्छ- मूल्यवृद्धि भई दुई कुरुवा चामलको एक द्रम्म, एक पल नून-तेलको एक द्रम्म, एक पल सुनको पौने तीन द्रम्म, एक कर्ष चाँदीको २० द्रम्म, पह्रिपो(?)को ७२ द्रम्म र खष्टखण्डा(?)को २४ द्रम्म। यो भाउ वर्षैभरि रहेको थियो।

अभयमल्लका पालामा पनि महामारी दुर्भिक्ष भएको घटना वंशावलीमा छ, यसबेला प्रजाले कष्ट पाएको पनि उल्लेख छ। यो महामारी अरिमल्लकै पालादेखिको हो वा होइन भन्ने बारे वंशावलीमा स्पष्ट लेखिएको छैन।

यो महामारी अरिमल्लकै पालादेखिको हो वा होइन भन्ने बारे वंशावलीमा स्पष्ट लेखिएको त छैन। अरिमल्लपछि अभयमल्लको शासन भएकोले तथा एक द्रम्मले दुई कुरुवा चामल मात्र पाइने भन्ने मूल्यवृद्धिको घटनामा समान व्याख्याले ती दुवै एउटै महामारी हो भन्न चाहिँ सकिन्छ।

वंशावलीको अर्को भागमा (पत्र ३८) मा पनि १३०१ सालमा आषाढ कृष्ण अमावस्याका दिन ठूलो पानी परेको र महामारी दुर्भिक्ष (अनिकाल) भएको उल्लेख पाइन्छ। यसले अभयमल्लको शासनको महामारी अर्कै नयाँ हो कि भन्ने सङ्केत चाहिँ दिन सक्छ। उक्त असार औँसीमा ठूलो पानी परेर चार दिनसम्म बाहिर निस्कन नमिलेको वंशावलीकारले टिपेका छन्।

यो महामारी शान्त गर्नका लागि प्रति वर्ष लक्ष होम गरिएको र पक्ष श्राद्ध गरिएको थियो। प्रति वर्ष लक्ष होम गरिएबाट यो महामारी एक वर्षभन्दा बढी चलेको स्पष्ट छ। यसबाट महामारी शान्त भयो/भएन भन्ने कुनै जानकारी पनि यसमा छैन।

यससँगै पशुपतिमा महास्नान कैलासपूजा गरिएको पनि उल्लेख पाइन्छ। तर यो महामारीसँगै सम्बन्धित हो/होइन पनि यसै भन्न सकिन्न, शायद अभयमल्लदेवका पालामा मात्र गरिएको हो वा महामारी शान्त गर्न नै गरिएको हो? यो प्रश्न विद्वान्हरूलाई नै।

श्रीजयदेवका पालामा भुइँचालोपछि महामारी (वि.सं. १३१४)

नेपालको इतिहासमा जयदेव नाम गरेका अन्य राजा पनि छन्। तर अभयमल्लभन्दा पछि उल्लेख गरिएकोले वंशावलीमा उल्लेख भएको राजा श्रीजयदेव सन् १२५७ मे-सेप्टेम्बर अर्थात् १३१४ साल जेठदेखि भाद्रसम्म छोटो राज्य गरेका राजा हुन सक्छन्।

उनीभन्दा अगाडिका राजा अभयमल्लका पालामा ठूलो भूकम्प गएको थियो। उक्त भूकम्पमा परी राजा अभयमल्लसहित एक-तिहाइ प्रजाको मृत्यु भएको थियो। वंशावलीले जयदेवको पालामा भुइँचालो गएकोझैँ उल्लेख गरेको छ, यो १३१२ मा अभय मल्लकै पालाको भूकम्प हो वा पछिको पराकम्प, स्पष्ट छैन।

तर जे होस् सो भूकम्पका कारण ठूलो दुःख भएको, महामारी, दुर्भिक्ष भएको र प्रजा क्षय भएको उल्लेख वंशावलीमा (पत्र २५) मा पाइन्छ। यसमा महामारी कस्तो थियो, कुन प्रकृतिको थियो भन्ने स्पष्ट केही पाइन्न।

१३८५ को महामारी

गोपालराजवंशावलीको पत्र ४६ मा १३८५ सालको भाद्र शुक्ल नवमीको दिन महामारी फैलिएको घटना उल्लेख पाइन्छ। त्यस बेला महामारीसँगै मूल्यवृद्धि पनि भएको थियो- एक द्रम्म (मुद्राविशेष)को एक पाथी मात्र चामल पाइने भएको थियो।

यो मिति हेर्दा यस महामारी र लगत्तै अर्को वर्षको महामारी बेलाका राजा अरिमल्ल द्वितीय भएको देखिन्छ। अरिमल्ल द्वितीयको शासन सन् १३२०-१३४४ अर्थात् १३७७ देखि १४०१ सम्मको थियो।

१३८६ को कनिमरक महामारी

लगत्तै एक वर्षपछि १३८६ सालको यो महामारी नयाँ हो भन्ने आधार छ। गोपालराजवंशावलीमा (पत्र ४६) स्पष्ट रूपमा यो ठूलो महामारी सो वर्ष फाल्गुन शुक्लदेखि फैलिएको उल्लेख छ। बीचमा महामारीको प्रभाव रोकिएर पुनः यस दिनबाट फैलिएको चाहिँ नकार्न सकिन्न।

यस महामारीलाई ‘कनि-मरक’ भनी चिनाइएको छ, वंशावलीको मूलपाठमा ‘कनिम्रकः’ लेखिए तापनि इतिहासकार धनवज्र वज्राचार्यले नेपालीमा अनुवाद गर्दा यसरी ‘कनि-मरक’ लेखेका हुन्। फागुनको यस महामारीका कारण (अर्को) भाद्रसम्म दिनको १०० जना जति मरेको वंशावलीमा उल्लेख पाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय