बागलुङ, वैशाख १५ : कोभिड–१९ ले जिल्लामा निम्त्याएको जोखिमको स्थितिमा महिना दिनपछि केही सुधार आएको छ । गत चैतमा लगातार दुई सङ्क्रमित भेटिएपछि सन्त्रासको ताप एकाएक बढेको थियो । बागलुङ सङ्क्रमणको केन्द्र बन्ने लख कतिपयले काटेका थिए । जिल्लाको पहिलो सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटाको पछिल्लो परीक्षण रिपोर्टले भने बागलुङलाई केही राहत दिलायो । सापकोटा कोरोना सङ्क्रमणमुक्त भएर शुक्रबार राति अस्पतालबाट घर फर्केका हुन ।
यसअघि अघिल्लो शनिबार जिल्लाको दोस्रो सङ्क्रमित सोही नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेल पनि कोरोनालाई जितेर घर गइसकेका छन । दुवै सङ्क्रमित कोरोनामुक्त भएपछि जिल्लामा जोखिमको स्तर घटेको महसुस गरिएको छ । “जिल्लामा भेटिएका दुवै जना बिरामी सङ्क्रममुक्त भएपछि जोखिम केही घटेको मान्न सकिन्छ”, स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले भने, “थप सङ्क्रमण हुन नदिन नयाँ रणनीतिका साथ काम थाल्नुपर्छ, विशेष सतर्कता अपनाउनुपर्छ ।”
उहाँले अबको जोखिम छिमेकी मुलुक भारतबाट आएकाबाट हुन सक्ने उल्लेख गरे । अहिले उद्धारका क्रममा राजधानीलगायत ठूला शहरबाट जिल्ला भित्रनेहरुलाई विशेष निगरानीमा राख्नुपर्ने कार्यालय प्रमुख गुरौको भनाइ छ । “दुवै जना सङ्क्रमितको कन्ट्र्याक्ट ट्रेसिङ गरी सबैलाई जाँच्दा कोरोना देखिएन”, उनले भने, “अब बाहिरबाट सङ्क्रमण भित्रन दिएनौँ भने जिल्लाभित्र रोकथाम गर्न सकिन्छ, यसमा सबै पक्षको साथ चाहिन्छ ।”
जिल्ला सङ्कट व्यवस्थापन समितिले पनि बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई अनिवार्य ‘होम क्वारेन्टाइन’मा राख्न स्थानीय तहलाई आग्रह गरेको छ । उनीहरुको यात्रा विवरण, स्वास्थ्य अवस्था र व्यक्तिगत जानकारीको समेतको लिखत राख्न भनिएको छ । एकसाथ सयौँको सङ्ख्यामा मानिस जिल्ला छिरेकाले भोलि यदि कसैमा सङ्क्रमण देखिइहालेमा ‘कन्ट्र्याक्ट ट्रेसिङ’ गर्न गाह्रो हुने समितिको बुझाइ छ । त्यसले गर्दा समुदायमा सङ्क्रमण फैलने जोखिम उच्च हुन्छ ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका एक हजार १२२ मा दु्रत जाँच (र्यापिड डाइग्नोष्टिक टेष्ट) र ६३ जनामा ‘पिसिआर’ विधिबाट कोरोना जाँच गरिएको छ । जाँचिएका सबैको रिपोर्ट नेगेटिभ छ । दुवै सङ्क्रमितका परिवारका सदस्य, सँगै यात्रा गरेका, भौतिक सम्पर्कमा आएका र छिमेकीमा कोरोना देखिएको छैन ।
काठेखोला गाउँपालिका–६ की ६५ वर्षीया महिलामा दु्रत जाँचका क्रममा पोजेटिभ देखिए पनि ‘पिसिआर’मा सङ्क्रमण नरहेको पुष्टि भएको थियो । यसबीचमा कोरोनाको आशङ्कामा उपचारमा ल्याइएका केही व्यक्तिमा समेत कोरोना जाँचियो । विदेशबाट आएका मात्र झण्डै ९०० भन्दा बढीमा कोरोनाको दु्रत जाँच (आरडिटी) गरिएको थियो । शङ्कास्पद व्यक्तिमा अहिले पनि नियमित जाँच भइरहेको छ । लकडाउनको पालना, भौतिक दूरी कायम, जाँच वृद्धि, निगरानी र सावधानी बढाउनुपर्नेमा जिल्लावासीको साझा मत छ ।
सङ्क्रमित पत्ता लाग्नासाथ अस्पताल ल्याइनु, ‘कन्ट्रयाक्ट ट्रेसिङ’ गरी सबैलाई जाँच गरिनु, लकडाउन, क्वारेन्टाइन, सामाजिक दूरीको पालनालगायत व्यक्तिगत सावधानीका कारण जोखिम न्यूनीकरणमा टेवा पुगेको बताइन्छ । सङ्क्रमित व्यक्तिबाट परिवारकै सदस्य र छिमेकमा नसर्नुलाई निकै सुखद मानिएको छ जसका कारण स्थानीय सङ्क्रमण हुन पाएन ।
सङ्क्रमितको हेरचाह र उपचार गरेको धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बागलुङ तत्काललाई कोरोनाका बिरामीमुक्त भए पनि सुरक्षित भने भइनसकेको बताए । “दुईजना बिरामीलाई निको बनाउन हामी सफल त भयौँ तर यसैमा ढुक्क भएर बस्ने अवस्था छैन”, उनले भने, “सम्भावित जुनसुकै अवस्थाका लागि हामी तयारी अवस्थामा बस्नुपर्छ ।” अन्य जिल्लामा दिनदिनै सङ्क्रमित फेला परेकाले जोखिम कायमै रहेको उनको भनाइ छ ।
प्रमुख चिकित्सक पोखरेलले लकडाउन खुकुलो बनाइहाल्दा सङ्क्रमण फैलने डर रहेको बताए । “विशेषगरी भारतलगायत देशकै बाहिरी जिल्लाबाट आउने व्यक्तिसँगै सङ्क्रमण भित्रने जोखिम हुन्छ”, उनले भने, “हामी सबै सजग हुनु आवश्यक छ, सरोकार भएका पक्षले पनि सोही बमोजिम योजना तय गर्नुपर्छ ।”
चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापन र नागरिक क्षेत्रको सहकार्यबाट अस्पतालले सङ्क्रमितको हेरचाह, उपचार र व्यवस्थापनमा सफलता पाएको उनको भनाइ छ । “कोभिड–१९ हाम्रा लागि नयाँ थियो, सीमित स्रोतसाधनबीच काम गर्नुपर्ने अवस्था छ”, प्रमुख चिकित्सक पोखरेलले भने, “उच्च मनोबलका साथ टिमवर्क गर्यौँ, सफलता पनि मिल्यो ।”
अस्पतालले आइपर्ने जोखिमलाई दृष्टिगत गरेर आइसोलेशन श्यया थपलगायत पूर्वाधार तयारीका कामलाई अघि बढाएको छ । ‘भेन्टिलेटर’ जडान, सघन उपचार कक्ष ‘आइसियु’ सञ्चालनको तयारी पनि भइरहेको छ ।
जसले जिते कोरोना
उन्नाईस वर्षीया अंशु सापकोटा बागलुङको पहिलो भए पनि नेपालको भने पाँचौँ सङ्क्रमित छन । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्युआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी सापकोटामा चैत १५ गते कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । २८ दिनको अस्पताल बसाइपछि उहाँ शुक्रबार राति घर फर्केका छन ।
अस्पतालबाट घर फर्कने क्रममा सापकोटाले आफ्नो आत्मबल र चिकित्सक, स्वास्थ्यकर्मीको स्याहारले कोरोनालाई जित्न सफल भएको बताए । “म खुशी छु, मलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु”, उनले भने, “अस्पतालमा बस्दा राम्रो हेरचाह पाएँ, परिवार र आफन्तले माया दिए ।”
सापकोटाले अस्पताल बसाइका क्रममा कुनै औषधि सेवन भने गर्नु परेन । उच्च मनोबल, अस्पतालमा पाएको उचित हेरचाह र स्वस्थ आहरविहारले आफू निको भएको उनले सुनाए । कक्षा ११ अध्ययनरत सापकोटा गत माघमा बेल्जियमा रहेका बुबाआमालाई भेटेर फर्कने क्रममा सङ्क्रमित भएको थिए ।
एउटै विमानमा सँगै आउनुभएकी काठमाडौँकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठमा सङ्क्रमण पुष्टि भएपछि सापकोटामा पनि कोरोना जाँच्दा पोजेटिभ रिपोर्ट आएको थियो । सापकोटाका बुबा ऋषिरामले छोरीमा सङ्क्रमण भएको थाहा पाउँदा पीडा भए पनि निको भएर फर्किंदा सिङ्गो परिवारमा खुशी छाएको बताए ।
पैंसठ्ठी वर्षीया मनकुमारी पौडेलले कारोना लागेपछि डर नलागेको बरु मन बलियो बनाएको बताइन । उनको इच्छाशक्ति देखेर चिकित्सक÷स्वास्थ्यकर्मी पनि दङ्ग पर्थे । “कोरोना लागेपछि यसलाई जसरी जित्छु भन्ने सोच आयो”, उनले भने । पौडेलले पनि अस्पतालमा रहँदा पुरानै उच्च रक्तचाप र दमबाहेक थप कुनै औषधि सेवन गर्नु परेन । मनोबल, स्वस्थकर खानपान र आरामले आफू निको भएको उनको भनाइ छ । पौडेल पनि सापकोटासँगै बेल्जियमबाट आउँदा सङ्क्रमित भएका हुन।
उनीमा गत चैत २० गते कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । पौडेल बागलुङको दोस्रो र नेपालको छैटौँ सङ्क्रमित हुन । १७ दिनको अस्पताल बसाइपछि अघिल्लो शनिबार उनी घर फर्केकी हुन । निको भइ फर्कने दुवै सङ्क्रमितलाई थप दुई हप्ता घरमा अलग्गिएर बस्न लगाइएको छ । (रासस)