काठमाडौं, वैशाख १६ : ललितपुर महानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका दैनिक श्रम गरी खानुपर्ने व्यक्ति वा परिवारको वडागतरुपमा तथ्याङ्क सङ्कलन गरी खाना खुवाउने भएको छ । यहाँका अतिविपन्न, गरिब र दैनिक ज्यालादारी गर्ने व्यक्ति वा परिवारलाई महानगरपालिकाले वडापिच्छे तथ्याङ्क सङ्कलन गरी खानाको व्यवस्थापन गर्न लागेको हो ।
महानगरपालिकाको २९ वटै वडामा गई दैनिक हातमुख जोड्न समस्या भएका व्यक्ति वा परिवारको तथ्याङ्क सङ्कलन गरिने प्रवक्ता राजु महर्जनले जानकारी दिए । उनले भने, “यस्ता व्यक्तिको जानकारी सङ्कलन गरी प्रत्येक वडामा दिनको दुई पटक खाना खुवाउने व्यवस्था गर्ने भएका छौं ।” महानगरपालिकामा पहिलो चरणको राहत वितरण सम्पन्न भइसकेको छ । वितरण गरिसकेको राहतले बन्दाबन्दी अवधिभर दैनिक खान नपुग्ने हुँदा खानाको व्यवस्था गर्न लागेको महर्जनले बताए ।
“लगनखेल आसपासका मन्दिरमा दैनिक मागेर गुजारा चलाउने १५० देखि २०० व्यक्तिलाई हामीले तीन हप्ता अघिदेखि खानाको व्यवस्था गरिरहेका छौँ”, प्रवक्ता महर्जनले भने, “यी व्यक्तिलाई खाना खुवाउनका लागि लगनखेल युवा समूहका व्यक्ति सक्रिय हुनुहुन्छ ।” दैनिक कामविना खानै नपाउने यस्ता व्यक्तिलाई महानगरपालिकाले तथ्याङ्क सङ्कलनको पूर्णता पश्चात् कुपनको व्यवस्था गरिदिने महर्जनले जानकारी दिए ।
महालक्ष्मी नगरपालिकामा आजसम्म खाना खान पाइन भनेर आउने व्यक्ति नभेटिएका नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए । उनले भने, “हामीसँग मुलुक बन्दाबन्दी अवधिभर कसैले खाना खान पाइन भनेर आउँछन् भने उहाँहरुलाई ध्यानमा राखी केही सामग्री जोहो गरेर राखेका छौं ।” महालक्ष्मीले विपन्न र श्रमिक व्यक्तिलाई ध्यानमा राखी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, समाजसेवी आदिको २० वटा नम्बर सार्वजनिक गरिरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए।
गोदावरी नगरपालिकाले श्रमिक र मजदूर वर्गको हितमा पहिलो र यहाँ रहेका सङ्घसंस्थाको पहलमा गरी दोस्रो चरणमा राहत वितरण गरिसकेको नगरप्रमुख गजेन्द्र महर्जनले जानकारी दिए। उनले भने, “वडा नं १२ थेचोमा हामीले दैनिक २५० देखि ३०० जनालाई खानाको व्यवस्था गरिदिएका छौं ।” अब बस्ने नगरपालिकाको एक चरणको बैठक यी व्यक्तिका लागि के गर्ने भन्ने निर्णय हुने महर्जनले बताए । यसैगरी दक्षिण ललितपुरका तीन वटा गाउँपालिकामा पहिलो चरणको राहत वितरणको काम धमाधम भइरहेका छन् । रासस