कपिलवस्तुका फुच्चे गाइड : लकडाउनमा पढाइ र खेतीमा व्यस्त
मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित

जीतपुर, वैशाख १६ : उमेरले भखैरै ११ वर्ष टेकेका कपिलवस्तुका राहुल साहनी पर्यटन पथप्रदर्शक काम गर्छन् । साहनी गौतमबुद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने विभिन्न देशका पर्यटकलाई यहाँको भौतिक संरचनाका विषयमा बुझाउने गर्छन् । एकदुई मात्र होइन, नेपाली, हिन्दी, अंग्रेजी, चिनियाँ, थाईलगायत सात देशका भाषाको ज्ञान उनीसँग रहेको छ ।

कपिलवस्तु नगरपालिका–३ शिवगढमा जन्मी सिद्धार्थ विद्या मन्दिरमा कक्षा ५ मा अध्ययनरत साहनीको क्षमता देखेर जो कोही छक्क पर्छन् । पढ्ने, खेल्ने र खाने कलिलो उमेरमा साहनीले पर्यटकीयस्थलको प्रचारप्रसार गरी आफ्नो खर्च आफैँ जुटाउँदै आउएका थिए। ‘राहुल’का पिता गौतम बुद्धको जन्मदेखि मृत्युपर्यन्तसम्मको सबै ज्ञान उनलाई छ ।

दिउँसो विद्यालय जाने र बिहान साँझ पर्यटकलाई पथप्रदर्शन गर्ने साहनीको काम अहिले बन्दाबन्दीका कारण रोकिएको छ । कोरोना भाइरस संक्रमणका कारण गरिएको बन्दाबन्दीले गर्दा पर्यटक आउन छाडेपछि ‘फुच्चे गाइड’ अहिले फुर्सदिलो बनेका छन् ।

यस समयमा उनले बुवाआमालाई खेती स्याहार्न सहयोग गरिरहेका छन्। बन्दाबन्दीका समयमा खेतमा लगाइएको सूर्यमुखी र तरकारी बारीमा गोडमेल गर्ने गरेको साहनीले बताए । हेर्दा सानो भए पनि उनीभित्र अद्भत क्षमता भएको स्थानीयवासी बताउँछन् । विद्यालयबाट फर्किएपछि पर्यटकसँगै घुम्ने साहनीले अहिले घरको काम गर्ने, भाइबहिनीलाई पढाउने र आफू पनि विभिन्न भाषा सिक्ने काम गरिरहेका छन् ।

“मलाई धेरै कुरा सिक्नु छ, यो समयमा घरको काम गर्दै पढ्दै गरेको छु,” घर छेउकै तरकारीबारीमा झार गोड्दै गरेका साहनीले हातको माटो टक्टकाउँदै भने, “ठूलो भएपछि यहाँको लागि केही गरेर देखाउनु छ ।”

पुरातात्विक महत्वको स्थल भएर पनि तिलौराकोटको विकास सोचेअनुरुप नहुँदा साहनीको मन खिन्न छ । “यहाँको महत्व बुझेर कति धेरै पर्यटक आउँछन् तर यो ठाउँ अझै ओझेलमा छ”, उनी भन्छन् । साहनीलाई यहाँका पुरातात्विक सम्पदाको अत्यन्तै माया छ ।

“भारतले कृत्रिम रुपमा प्राचीन कपिलवस्तु भनेर सीमा क्षेत्र नजीकै अलिगढवाको पिपरालाई प्रचार गरेको छ । यो गलत हो । नक्कली लुम्बिनी बनाएर बुद्धको अपमान गरेर भारतले गल्ती गरेको छ”, साहनी थपे, “यहाँ आउने सबै पर्यटकलाई मैले यो भ्रम चिर्न सत्य कुरा बताउने गरेको छु ।”

गौतमबुद्ध (तिलौराकोट), कनकमुनि बुद्ध(निग्लिहवा) र क्रकुच्छन्द बुद्ध(गोटिहवा)को क्रिडास्थलसहित बुद्धसँग सम्बन्धित सयभन्दा बढी स्थल रहे पनि कपिलवस्तु सरकारको नजरमा नपर्दा ओझेलमा पर्दै गएको साहनीको भनाइ छ । नेपाली, हिन्दी र अवधीमिश्रित बोलीमा उनी भन्छन्, “ म पछि गएर धेरै पैसा कमाउँछु, अनि तिलौराकोटको विकास गर्छु ।”

साहनीलाई पहिले घरमा सबैले ‘दीनदयाल’भनेर बोलाउँथे । आमाले राहुल नाम राखिदिएपछि अहिले सबैले यही नामले बोलाउने गरेका छन् । “राहुल त गौतमबुद्धका छोरोको नाम रहेछ, अहिले बल्ल थाहा पाएँ”, साहनी भने । साहनी पाँच वर्षका उमेरदेखि राजा शुद्धोधनको दरबार भएको क्षेत्रमा घुम्ने र त्यहाँ आएका पर्यटकको पछि लागेर हिँड्ने गर्दथ्ये । यसरी हिँड्दाहिँड्दै तिलौराकोट र अन्य सम्पदाका विषयमा सिक्ने मौका पाएको उनको भनाइ छ ।

बुवाआमाको जेठो छोरा भएका कारण आफूमाथि परिवारको धेरै जिम्मेवारी भएको बताउने साहनीको भविष्यमा पनि पथप्रदर्शक बनेर भाइबहिनीलाई उच्च शिक्षा दिलाउने र बुवाआमालाई खुशी राख्ने चाहना छ । साहनीको लगनशीलता र इमान्दारीले धेरैलाई प्रभावित गरेको छ ।

साहनीले तिलौराकोट आउने जोकोहीलाई आफ्नो प्रतिभा र क्षमताले प्रभावित पार्ने गरेको लुम्बिनी विकास कोष तिलौराकोट शाखा प्रमुख माधवप्रसाद आचार्यले बताए । “यहाँको उत्खननदेखि ऐतिहासिक महत्वका विषयमा बालकले पूरै जानकारी दिनु कुनै सानो विषय होइन”, उनले भने ।

साहनीले तिलौराकोटको प्रचारमा खेलेको भूमिका र पढाइप्रतिको उत्साह देखेर विकास कोषले उनको एक वर्षका लागि सम्पूर्ण पढाइ खर्चको व्यवस्था गरेको छ । लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवाली भने, “साहनी यहाँँका धेरै बालबालिकाका लागि प्रेरणाका पात्र बन्न सक्छन् ।” साहनीको उच्च शिक्षा तथा पथप्रदर्शन शैली प्रभावकारी बनाउन विकास कोषले थप सहयोग गर्ने सदस्य ज्ञवालीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर