जाजरकोट, वैशाख १९ : उमेरले ७१ वर्ष नाघेकी रुकुम पश्चिम आठबीसकोट नगरपालिका–११ की रामकुमारी पुन ‘लकडाउन’ कै बीचमा सडकमा छिन् ।
फुलेको कपालसँगै बढ्यौली पनले चाउरी परेको शरीरलाई जबरजस्ती दैनिक छाक टार्न रामकुमारी सडकको किनारामा रहेका गिट्टीसँग पौठेजोरी खेलिरहेकी छिन् ।
उनका दुई भाइ र छोरा कमाइ गर्न भारतको गडुवालमा छन् । लकडाउनका कारण छोरा आउन नपाएपछि नाति र बुहारीका साथ उहाँ सडकमा गिट्टी कुट्न बाध्य भएकी हुन् ।
उनी भन्छिन्, ‘पेटले दुःख दिएको नानी ? भोको पेटमा बस्न सकिँदैन । बाँच्नका लागि बूढेसकालमा सडकमा छु । शुरुका दिनमा गाडी धेरै गुड्दा धुवाँले गिट्टी कुट्न समस्या थियो अहिले गाडी चल्दैनन् ढुक्कका साथ काम गर्न पाइएको छ ।’
आफ्नो बारीमा उत्पादन भएको अन्नले तीन महिना मात्र खाना पुग्ने बताउँदै पुनले वर्षेनी पेट पाल्नका लागि अर्काको कामदेखि गिट्टी कुट्ने गरेको बताइन् । ‘गरिबीका कारण छोरा पढाउन सकिएन । अब नाति, नतिना पढाउने धोको छ’, उनले भनिन् ।
उनी जस्तै आधा घण्टाको दूरीमा जाजरकोट–डोल्पा सडकखण्डको रिटामा भेटिएकी पानसरी पुनले पनि एक हप्तादेखि सडकमै रहेको बताइन् । उनका श्रीमान् दुई वर्षअघि रोजगारीका सिलसिलामा भारत भएको समयमा जम्मु कास्मिरमा मृत्यु भएको थियो ।
तीन छोरा, छोरीकी आमासमेत रहेकी ३६ वर्षीय पानसरीको घरमा खानाका लागि अन्न नपाएपछि गिट्टी कुट्न आएकी हुन् ।
घरमा आर्थिक जोहो गर्न मुस्किल भएपछि विद्यालयमा पढ्दा पढ्दै पानसरीले आफ्नो जेठो छोरा कालीबहादुर पुनलाई १४ वर्षको उमेरमा भारतमा कमाइका लागि पठाएकी छिन् । आफ्नो श्रीमान् खाने भूमिमा बाध्यताले छोरोलाई कमाइका लागि पठाएको उनको भनाइ छ ।
पानसरी हप्तामा दुई पटक छोरासँग फोनमा कुरा गर्छिन् । छोराको हालखबर अनि कमाइको बारेमा जानकारी लिने गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘आफ्नो छोराको उमेरमा सबै विद्यालय जान्छन् तर मेरो छोरा भारतमा कमाइ गर्न गएको छ ? मेरो मन रोएर आउँछ तर के गरौं पापी पेटले गर्नुगरेको छ ।’
सडकमा काम गर्ने उहाँहरु त प्रतिनिधिमूलक पात्र मात्र हुन् । अहिले लकडाउनको समयमा पनि जाजरकोट–डोल्पा सडकखण्डदेखि जाजरकोट सदरमुकाम हुँदै जुम्ला जोड्ने सडक अनि मध्यपहाडी लोकमार्गमा दर्जनाैं स्थानीयवासी गिट्टीको सहारामा बाँचिरहेका छन् ।
प्रतिबोरा रु ४० मा बिक्री हुने गरेको गिट्टी यहाँका अधिकांश निम्न वर्गका मानिसको जीवन जिउने आधार समेत भएको छ । गाउँमा हुनेखानेको जमिनमा गहुँ पाकेको छ । कतै मकै रोप्ने तयारी समेत भइरहेको छ । निम्न वर्गका मानिस उनीहरुकै जग्गामा मकै रोप्नेदेखि गहुँ काटेर भित्र्याउने काममा सहयोग गरिरहेको समेत पाइएको छ ।
मकै रोप्नका लागि गोरु नभएकाले साहुको काम गरेर कमाएको पैसाले दैनिक ज्यालामा गोरु किनेर मकै राप्ने काम समेत भएको नलगाड नगरपालिका–७ काँडादल्लीका प्रताप गिरीले बताए । प्रतिदिन गोरुको सहायताले जग्गा जोत्दा रु दुई हजार लिने भएकाले गोरु प्रयोग गरी मकै रोप्न समेत समस्या भएको छ ।
मकैको बीउ स्थानीय सरकार तथा कृषि शाखाले उपलबध नगराउँदा कृषकहरु बीउको अभावमा समेत हैरान भएको गिरीले बताए । काम गर्नका लागि गाउँमा विकास निर्माणका कामहरु लकडाउनका कारण ठप्प भएपछि सबैभन्दा निम्न वर्गका मानिसमा समस्या परेको छ । उधारो खाद्यान्न साहुले नदिने भएकाले थप गरिब परिवारलाई खाद्यान्न जोहो गर्न मुस्किल भएको हो ।
खाद्यान्नको जोहो गर्नकै लागि पनि अर्काको जमिन जोत्ने कामदेखि गिट्टीको काम गर्नु रहर नभई बाध्यता भएको उनीहरुको तर्क छ । स्थानीय सरकारको उपलब्ध गराएको एक बोरा २५ केजीको चामल सकिएकाले थप खाद्यान्नका लागि सडकमै आएर मजदुरी गर्नुको विकल्प नभएको पीडित बताउँछन् ।
हुनेखानेहरु प्रत्येक छाकमा पौष्टिक तत्वसहितको खाना खान्छन् । यता गरिबीको रेखामुनि रहेका नागरिक भने सुक्खा रोटी पाउन समेत मुस्किल भएको बताइरहेका छन् । आधा पेट खाएर पनि दैनिक गिट्टी कुट्नुपरेको उनीहरुको भनाइ छ । दैनिक सडकमा ५० भन्दा बढी सर्वसाधारण गिट्टी कुट्ने काममा लागिरहेको देख्न सकिन्छ ।