विराटनगर, वैशाख २० : प्रदेश १ का तीन वटा ल्याबबाट पीसीआर प्रविधिबाट कोरोना भाइरस (कोभिड-१९) परीक्षण सुरु भएको छ, तर परीक्षण गर्ने सामाग्री भने अभाव छ। विराटनगरको कोशी अस्पतालमा कोरोना परीक्षण गर्ने ‘रिएजेण्ट’को अभाव भएको छ भने स्वाव संकलन गर्ने सामग्री भिटिएम नहुँदा संक्रमित फेला परेको झापा र उदयपुरमा थप शंकास्पदको स्वाव संकलन हुन सकेको छैन।
स्वाव परीक्षण हुँदै आएको कोशी अस्पतालको ल्याबमा अटोमेटिक मेसिनमा प्रयोग हुने रिएजेन्ट अभाव भएपछि मेनुअल्ली काम गरिरहनुपरेको अस्पतालले जनाएको छ। संक्रमण देखिएको स्थानमा परीक्षणको दायरा बढाउनुपर्ने बेलामा रिएजेन्ट अभाव भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा. संगीता मिश्राले बताइन्। पाँच दिनदेखि मन्त्रालयमा जानकारी दिएपनि सामान नआएको अस्पतालले जनाएको छ। अटोमेटिक मेसिनमा प्रयोग हुने सामान अभाव हुँदा परीक्षणमा ढिलाइ हुने गरेको छ।
ल्याबमा आरएनए एक्ट्रयाक्टर किट अभाव भएको बेला संक्रमण देखिएको उदयपुर र झापामा स्वाब संकलन गर्ने सामग्री भिटिएमकै अभाव भएको छ। झापामा थप १ सय ५० जना शंकास्पदको परीक्षण गर्ने तय भएकोमा स्वाब संकलन गर्ने भिटिएम अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
कोरोनाको केन्द्रको रुपमा देखिएको उदयपुरको त्रियुगा नगरपालिका भुल्केमा समेत भिटिएम अभाबमा कोरोना परिक्षण अगाडि बढ्न सकेको छैन। परीक्षण सामग्री अभाव भए पनि प्रदेशमा तीन स्थानमा कोरोना पीसीआर विधिबाट कोरोना परीक्षण हुन थालेको छ।
यसअघि कोसी अञ्चल अस्पताल बिपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा पीसीआर प्रविधिबाट स्वाव परीक्षण हुँदै आएकोमा विराटनगरकै पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पनि कोभिड-१९ परीक्षण हुन थालेको छ।
तीन स्थानबाट पीसीआर प्रविधिबाट परीक्षण हुन थालेपछि पदेशमा दैनिक शंकास्पद् तीनसय बढीको स्वाव परीक्षण हुने भएको छ। प्रदेश सरकारले कोरोना परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै दैनिक ३ सय बढीको परीक्षण गर्न सकिने भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए।
विराटनगरको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस (कोभिड-१९)का शंकास्पद व्यक्तिको स्वाव परीक्षण सुरु गरिएपछि मन्त्री घिमिरेले प्रयोगशालाको निरीक्षण गरे। सो प्रयोगशालामा आजदेखि स्वाव परीक्षण सुरु भएको छ। सो प्रयोगशलामा २० जना सम्मको परीक्षण गर्न सकिने मन्त्री घिमिरेले बताए। उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पनि क्षमता विस्तार गरिएको जानकारी दिए।
धरानमा १ सय बढी र कोशी अस्पतालमा २ सय जना सम्मको परीक्षण गर्न सकिने मन्त्री घिमिरेले बताए। शुक्रबारबाट परीक्षण सुरु गरिएको ल्याबमा कोरोना पोजेटिभ रिपोर्ट आएमा पुनः परीक्षण कोशी अस्पतालमा गरिने प्रदेश १ जनस्वास्थ्य प्रयोशालाका निर्देशक जयबेन्द्र यादवले बताए। सो ल्याबबाट यसअघि वर्डफ्ल्यु, स्वाइनफ्लु, एन्थ्रेक्सको परीक्षण हुँदै आएको थियो।
प्रदेश सरकारले पीसीआर मेसिन र किट उपलब्ध गराएपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट स्वाव परीक्षण सुरु गरिएको यादवले बताए। नेपालन्युजबाट साभार ।