विपद्मा राजनीतिक दलको साथ
शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

कृष्ण न्यौपाने

तनहुँ, वैशाख २० : कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि तनहुँ जिल्लाका स्थानीय तहले शुरु गरेको अभियानमा यहाँका मुख्य राजनीतिक दलले साथ दिएका छन् ।

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि स्थानीय तहले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक सहयोग गर्दै स्थानीय तहको अभियानमा साथ दिएका हुन् ।

यसैक्रममा आँबुखैरेनी गाउँपालिकाले खडा गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा नेकपा गाउँ कमिटीले शुक्रबार रु एक लाख १७ हजार ७१७ सहयोग गरेको छ । गाउँ कमिटी अध्यक्ष प्रेम तमुले उक्त रकम गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापालाई हस्तान्तरण गर्दै विपद्को अवस्थामा नेकपा सधैँ जनताको साथमा रहेको बताए । गाउँपालिकाको प्रकोप कोषमा हालसम्म सबैभन्दा बढी सहयोग रकम नेकपाबाट प्राप्त भएको छ । ‘विपद्को अहिलेको अवस्थामा सबै राजनीतिक दल एकजुट हुनुपर्छ,’ तमुले भने, ‘नेकपा सधेँ जनताको साथमा छ ।’

शुक्रबार नै गाउँपालिकालाई कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एक थान स्मार्ट इन्फ्रारेड इलेक्ट्रिक थर्मोमिटर प्रदान गरे । यसअघि गाउँपालिकालाई काँग्रेसको भातृ संस्था नेपाल तरुण दल आँबुखैरेनी गाउँ समितिले रु एक लाख ११ हजार १११ सहयोग गरेको थियो । गाउँपालिकाका अध्यक्ष थापाले विपद्को परिस्थितिमा गाउँपालिकाभित्रका सम्पूर्ण वित्तीय सङ्घसंस्था, उद्योग, व्यवसायी तथा इच्छुक व्यक्तिलाई कोषमा सहयोग गर्न आग्रह गरे । गाउँपालिकाको प्रकोप कोषमा हालसम्म रु ४२ लाख ५० हजार ८९९ सहयोग सङ्कलन भएको छ ।

म्याग्दे गाउँपालिकाले खडा गरेको प्रकोप कोषमा नेकपा म्याग्दे गाउँ कमिटीले रु एक लाख ३९ हजार ६५५ सहयोग गरेको छ । पार्टीका गाउँ कमिटी अध्यक्ष डिलबहादुर नेपालीले विपद्को अवस्थामा सहयोग गरेर पार्टीले संस्थागतरूपमा सामाजिक उत्तरदायित्व बहन गरेको नेपालीले बताए । उनका अनुसार उक्त रकम गाउँपालिकाका सातवटै वडाका पार्टी कमिटीमार्फत सङ्कलन गरिएको हो । उक्त कोषमा नेपाली कांग्रेस म्याग्दे गाउँ समितिले रु एक लाख ११ हजार ३१६ सहयोग गरेको छ ।

यस्तै व्यास नगरपालिकाको प्रकोप कोषमा कांग्रेस व्यास नगर समितिले रु पाँच लाख सहयोग गरेको छ । कांग्रेस नगर समितिले १४ वटै वडाका क्रियाशील सदस्य, शुभेच्छुक, व्यक्ति, सङ्घसंस्थाबाट सङ्कलन गरेको उक्त रकम नगरपालिकालाई सहयोग गरेको नगर सभापति शान्तिरमण वाग्लेले जानकारी दिए । ‘कांग्रेस सुखदुःखमा सधैँ जनताको साथमा छ भन्ने सन्देश दिन र विपद्सँग जुध्नका लागि स्थानीय तहलाई सहयोग गरेका हौँ’, वाग्लेले भने । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय