काठमाडाैं, वैशाख २० : ‘बन्दाबन्दी’का बीच पनि वाग्मती सफाइ महाअभियानको ३६४औँ हप्तामा गत चैत ११ गतेपछि बन्द रहेको शङ्खमूल उद्यान सफाइ गरिएको छ । शङ्खमूलको हनुमाननगर टोल सुधार समितिका करिब २० जना स्थानीयवासीको सक्रियतामा उद्यान सफाइ गरिएको अभियानकर्मी लक्ष्मी पौडेलले जानकारी दिए ।
उद्यानसँगै शङ्खमूल क्षेत्रको नदी किनारमा पनि सफाइ गरिएको थियो । स्थानीयवासीले सामाजिक दूरी कायम गरी सुरक्षित तवरले सफाइ अभियानलाई निरन्तरता दिएका हुन् । यसैगरी पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ अभियान जारी रहेको जनाइएको छ ।
पशुपति क्षेत्रमा सात जनाले सफाइ गरेको अभियानकर्मी खरेलले बताउनुभयो । चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी लागू भएपछि चैत १५ गते शनिबार ३५९औँ हप्ताको सफाइ अवरुद्ध भयो । त्यस दिन सबै अभियानकर्मीले आ–आफ्नो घरअघि सफाइ गर्न पूर्वसचिव एवं अभियानकर्मी किशोर थापाले आह्वान गर्नुभएबमोजिम सञ्चालन भएको थियो ।
यस बाहेक चिसो, गर्मी, झरी र चाडपर्व जस्तोसुकै अवस्थामा पनि राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा नाराले अभियान निरन्तर जारी छ । ३६०औँ हप्तादेखि भने वाग्मती किनारमा घर भएका केही अभियानकर्मीले नदीमै प्रवेश गरेर सफाइ गरी निरन्तरता दिएका छन् । वाग्मती नदीभन्दा टाढा घर हुने अभियानकर्मीले भने घर एवं टोल टोलमा सफाइ अभियानलाई निरन्तरता दिएको जनाइएको छ ।
सबै अभियानकर्मीले सामाजिक दूरी कायम गरी सुरक्षाका सबै उपाय अवलम्बन गरी काम गरिरहेका छन् । वाग्मती सफाइ महाअभियानबाट प्रेरित भएर हाल देशका १०६ स्थानमा सफाइ अभियान जारी रहेको जनाइएको छ । वाग्मती सफाइले विश्वमै लामो समय चलेको स्वयंसेवी अभियान भनी अन्तरराष्ट्रिय पुरस्कारसमेत पाइसकेको छ । कोरोना र डेङ्गुलगायत रोगको महामारीबाट बच्न पनि सफाइ अभियानलाई निरन्तरता दिइनुपर्ने जनाइएको छ ।