विराटनगर, वैशाख २१ : घरनजिकै बारीमा काम गर्ने सिलसिलामा आँखामा गम्भीर चोट लागेकी यू–१६ महिला फुटबल खेलाडी समीक्षा मगरलाई आर्थिक सहयोग आउनेक्रम बढेको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) र विराट सांग्रिला स्पोर्टिङ क्लबले सहयोगको सुरुवात गर्दा शनिबार सहयोगको क्रम अक्रै बढेको हो ।
शनिबार नेपाली महिला राष्ट्रिय फुटबल टोली र पुरुष फुटबल टोली, पुरुष साग यू–२३ टोली र ‘ए’ डिभजन क्लब मनाङ–मस्र्याङ्दी क्लबले समीक्षाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । शनिबार महिला विभाग प्रमुख तथ महिला राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक हरि खड्का, अफिसियल र नेपाली राष्ट्रिय महिला टोलीले समीक्षालाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । पूर्वप्रशिक्षक खड्काले सामाजिक सञ्जाल फेसबुकमा उपचाररत युवा महिला खेलाडीलाई महिला विभाग, खेलाडी तथा अफिसियलबाट संयुक्त रूपमा सहयोग गर्ने घोषणा गरेका हुन् ।
यस्तै, नेपाली राष्ट्रिय पुरुष टिमले ३० हजार रुपैयाँ र १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जित्न सफल नेपाली यू–२३ पुरुष टिमले १० हजार रुपैयाँ सहयोग गरिएको साग पुरुष टोलीका कप्तान तथा राष्ट्रिय टोलीका सदस्य सुजल श्रेष्ठले जानकारी गराए । यस्तै, मनाङले पनि समीक्षालाई ३० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
त्यसअघि शुक्रबार एन्फा र विराट सांग्रिला स्पोर्टिङ क्लबले समीक्षालाई समान २५–२५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । एन्फाले अहिले उपचारका लागि र पछि पनि सहयोग गर्ने शुक्रबारै बताएका थिए ।
समीक्षाको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ । समीक्षाको उदयपुरस्थित घरको बारीमा काम गर्ने क्रममा ढुंगाले लागेर दाहिने आँखामा चोट लागेको थियो । उनको आँखाको अपरेसन गर्ने तयारी भइरहेको छ । उनले विद्यालयस्तरीय क्विक्स कप खेलेकी थिइन् । उनको त्यहाँ उपचार हुन नसकेको अवस्थामा काठमाडौंमा ल्याउने भइरहेको छ ।