महोत्तरीमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो, विशेषज्ञ टोली घटनास्थलमा
आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित

महोत्तरी, वैशाख २१ : महोत्तरीमा अज्ञात कारणले ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। आइतबार दिउँसोसम्म बर्दिबास नगरपालिका– १२ र बर्दिबाससँगै सीमा जोडिएको भंगहा नगरपालिका– ६ र ७ मा गरी १२ जनाको मृत्यु भएको हो।

विभिन्न मितिमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको मृत्युको कारण पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंको टोली शनिबार नै महोत्तरी आएको छ ।

यतिवेला स्वास्थ्यकर्मीको टोली स्क्रिनिङ र अनुसन्धानमा सक्रिय छ। मृत्युको अनुसन्धान गर्न धरानबाट समेत विशेषज्ञ टोली आउने क्रममा रहेको र्‍यापिड रेस्पोन्स टिम कोभिड– १९ का स्रोतव्यक्ति गिरेन्द्र झाले जानकारी दिए।

मृतकमध्ये दुईजनाको शव परीक्षण गरिएको छ। मृतकमा कोरोना संक्रमण छ कि छैन भनेर परीक्षण गर्न दुईको स्वाब र रगतको नमुना लिइएको थियो। दुईमध्ये एकजनाको कोरोनाको आरडिटी टेस्ट नेगेटिभ र अर्कोको मलेरिया पोजेटिभ देखिको झाले बताए।

‘गाउँका सबैको मलेरिया जाँचसमेत सुरु गरेका छौँ,’ झाले भने, ‘अहिलेसम्म बस्तीका करिब ६० जनाको मलेरिया परीक्षण गर्यौँ, सबैको रिपोर्ट नेगेटिभ आएको छ।’

शव परीक्षण र स्वाबको जाँचपछि मात्रै मृत्युको कारण थाहा हुने स्वास्थ्यकर्मीले बताएका छन्। ‘मृत्युको मूल कारण विषाक्त मदिरा, मलेरिया वा अन्य के हो अहिल्यै यकिनसाथ भन्न गाह्रो छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा.अमृत पोखरेलले भने।

उनले मृतकका आफन्तहरूसँग गरिएको कुराकानी तथा मृतकमा देखिएको लक्षणका आधारमा हालसम्म विषाक्त मदिराकै कारण उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरे। मृत्यु भएको बस्तीको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललेसमेत अनुगमन गरेका छन् ।

यी हुन् ज्यान गुमाउने

अज्ञात कारणले बस्तीका ५५ वर्षीय महेन्द्र चौधरी, ४४ वर्षीय मोहन चौधरी, ५५ वर्षीय नथुनी महरा, ५५ वर्षकै लालबाबु सिंह, ४० वर्षीय सिकिन्द्र सिंह, ५७ वर्षीय सुकदेव महरा, ४८ वर्षीय पलट साह, ५८ वर्षीय रूपनारायण सिंह दनुवार, ५५ वर्षीय गंगाराम सदा, ३० वर्षीय सोकिन्द्र मण्डल, ५५ वर्षीया सोमनीदेवी बाँतर र ५५ वर्षीय मोतीलाल प्रजापतिको मृत्यु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय