राइनासबासीलाई राहत
सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित

काठमाडौं, वैशाख २२ : लकडाउनका कारण समस्यामा परेका लमजुङस्थित राइनास नगरपालिकाका बासिन्दालाई काठमाडौंमा राहत वितरण गरिएको छ ।

नगरपालिकाले स्थापना गरेको कोरोना हेल्प डेस्क राइनास–काठमाडौंले विभिन्न स्थानमा रहेका ६३ राइनासबासीलाई शनिबार र आइतबार राहत वितरण गरेको हो । बन्दाबन्दीले दैनिक गुजारा चलाउन समस्यामा परेका विद्यार्थी मजदूर तथा न्यून आय भएका राइनासवासीलाई नगरपालिका र वडाको समन्वयमा राहत वितरण गरिएको राइनास, वडा नम्बर ३ का संयोजक पदमराज पन्थीले जानकारी दिए ।

उनका अनुसार प्रतिव्यक्ति रु दुई हजार सात सयका दरले पच्चीस किलोको एक बोरा चामल, तीन किलो दाल, दुई लिटर तेल, दुई किलो नून, साबुन, भुजा र दालमोठ वितरण गरिएको छ । ‘हामीले राइनासका बासिन्दा समस्यामा परेको थाहा पाएपछि नगरपालिकाका प्रमुख तथा उपप्रमुखसँग समन्वय गरेका थियौँ, सोचेअनुसारको सहयोगको प्रतिबद्धता भयो’, उनले भने, ‘नगरपालिकाको निर्देशनअनुसार हामीले राहत वितरण गरेका हौँ, राहत वितरण गर्दै जाँदा कतिपय खाद्यपदार्थ सकिएर भोकै बसेकोसमेत पायौँ ।’

वडा नम्बर १० का संयोजक महेश न्यौपानेले सामाजिक सञ्जालमार्फत सबै वडाका बासिन्दाको नामावली सङ्कलन गरी वडाध्यक्षले रुजु गरेपछि समस्यामा परेका राइनासबासीलाई राहत वितरण गरिएको जानकारी दिए ।

जुनसुकै जिल्ला तथा स्थानमा राइनासबासी समस्यामा परेको थाहा पाएमा सहयोग गर्न तयार रहेको नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले जानकारी दिए । ‘हामीले पहिलो चरणमा नगरपालिकामा राहत वितरण सम्पन्न गरेर काठमाडौँमा वितरण गरेका हौँ, पोखरा, चितवनलगायत अन्य जिल्लामा राइनासबासी समस्यामा परेको थाहा भएमा राहत वितरण र उद्धार गर्नेछौँ’, उनले भने ।

उनका अनुसार नगरपालिकामा रहेका दश वटै वडामा रु दुई हजार पाँच सयका दरले करीब एक हजार सात सय घरपरिवारलाई चामल, दाल, तेललगायत खाद्यपदार्थ पनि वितरण गरिसकिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय