काठमाडौं, वैशाख २५ : शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशन अघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण सुरु गरिएको छ ।
सांसदहरुको कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण पीसीआर प्रविधिबाट हुने छ । त्यसका लागि बिहीबार (आज) बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि प्रतिनिधि सभा सांसदहरुको स्वाब संकलन सुरु गरिएको छ ।
स्वाब संकलन संघीय संसद भवन परिसर बानेस्वरमा गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सबै सांसदहरुको महत्वपूर्ण काम भएको र हाउस सञ्चालन गर्नुपर्ने अवस्थामा सबै जिल्लाबाट आएका सांसदहरु हुने भएकाले स्वाब परीक्षण आवस्यक रहेको बताए ।
उनले सुरुमा प्रभावित क्षेत्रका सांसदहरुको मात्रै परीक्षण गर्ने भनिएपनि प्राविधिकहरुको सुझावका आधारमा सबै सांसदहरुको परीक्षण गर्न लागिएको बताए ।
उनले परीक्षण नगरी संसद सञ्चालन गर्दा कारणबस संक्रमण फेला परेमा हाउस बन्द हुने र महत्वपूर्ण कार्य नै बन्द हुने अवस्था आउने भएकाले परीक्षण गरिएको बताए ।