काठमाडौँ, वैशाख २६ : कोभिड-१९को जोखिम हुन नदिन लकडाउन जारी रहदा ऐतिहासिक रानीपोखरी र धरहरा पुनःनिर्माणमा कामदारको अभाव भएको छ। यसअघि नियमितरूपमा काम गरिरहेका कामदार घर गएकाले अहिले कामदारको अभाव भएको जनाइएको छ।
लकडाउन जारी हुनुअघि धरहरा पुनःनिर्माणका लागि दैनिक २०० कामदार निरन्तर लागिरहेका थिए भने रानीपोखरीका लागि पनि १०० को हाराहारीमा कामदारले काम गरिरहेका थिए।
कामदार उपत्यका ल्याउनका लागि समस्या भएकाले सरकारले पासको व्यवस्था गरिदिनुपर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुरोध गरेको छ। धरहरा कमदारको अभाव भए पनि दुई महिनाका लागि निर्माण सामग्री मौज्दात रहेको छ।
हाल धरहरा निर्माणमा ४३ जनाले काम गरिरहेका छन् भने ३७ प्रतिशत काम सम्पन्न भईसकेको राष्ट्रिय प्राधिकरणका सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए। २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।
पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ। जहाँ दुईवटा लिफ्ट पनि हुनेछ। साथै एउटा परम्परागत भर्याङ रहनेछ। लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ।
धरहरा निर्माणमा ३ अर्ब ४८ करोड लाग्ने बताइएको छ। धरहरा २२ तलाको र ७२ मिटर अग्लो हुनेछ। नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन्।
नयाँ धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ। पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाको भनाइ छ।
धरहराको १८औँ तलामा अवलोकन कक्ष हुनाका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ। जहाँ ३५० वटा गाडी र ६ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ।
११ तले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तला रहेको थियो। ऐतिहासिक धरोहर धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका हुन्।
तत्कालका लागि गोश्वारा हुलाक कार्यालय रहेको भवन अन्यत्र सार्नका लागि केही समस्या भएकाले काम गर्न अलि कठिन भएको र अबको तीन महिनाभित्र हुलाक कार्यालयलाई बबरमहलमा सार्ने तयारी भएको पनि पुनःनिर्माण प्राधिकरणले गरेको जानकारी दिएको छ। सरकारको गत बुधबार बसेको बैठकले बैठकले दूरी कायम गर्दै निर्माणको काम सुरु गर्ने भनेसँगै ऐतिहासिक धरोहरको निर्माण कार्य सुरु भएको हो।
रानीपोखरी पुनःनिर्माण प्रभावित
यसैगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण कार्य पनि सुरु भएको छ। गत आइतबारदेखि सुरु भएको रानीपोखरीमा पनि कामदारको अभाव भएको छ। करिब १०० कामदारले काम गरिरहेका थिए।
अहिले ३२ जना कामदारले काम गरिरहेका छन्। अहिले पोखरीको ८९ प्रतिशत काम भइरहेको छ भने बालगोपालेश्वर मन्दिरको ५० प्रतिशत काम सकिसकेको छ। गोरखा भूकम्पकै कारण पूर्णरुपमा क्षति भएको ऐतिहासिक सम्पदा रानीपोखरीको पनि यसै सातादेखि पुनःनिर्माण कार्य प्रारम्भ भएको छ। रानीपोखरी पुनःनिर्माणका लागि भने आगामी तीन दिनका लागिमात्र निर्माण सामग्री रहेको छ।
क्षति पुगेको तीन वर्ष बितिसक्दासम्म काठमाडौँ महानगरपालिकाबाट निर्माणको काम हुन नसके पनि अहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माणको काम गरिरहेको छ।
२०७२ साल माघ २ मा शिलान्यास भएको रानीपोखरीको पुनःनिर्माण सुरुमा काठमाडौंँ महानगरपालिकाले पाएको थियो। तर, महानगरले ठेकदारमार्फत काम गराउँदा प्राचीन सम्पदा पुनःनिर्माणमा एक पछि अर्को विवाद भएपछि काम हुन नसकेको हो। प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन १७२७ सालमा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो।