मंसिर १५ वासिङ्टन। अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको सञ्चार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गर्नुभएको छ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहनुभएकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ ।
बाइडेनले आफूले ह्वाइट हाउसको सञ्चार टोलीका सबै सदस्यमा महिलाहरुलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी र गर्व लागेको बताउनुभएको छ । उहाँहरु सबै योग्य, अनुभवी सञ्चारविज्ञ रहनुभएको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताउनुभएको छ ।
बाइडेनको सञ्चार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नुहुनेछ । उहाँले ह्वाइट हाउसको सञ्चार निर्देशकको रुपमा भूमिका निर्वाह गर्नुहुनेछ । बेडिङफिल्डले बाइडेन–ह्यारिस चुनाव प्रचार अभियानको उप प्रचार व्यवस्थापकका रुपमा सेवा गर्नुभएको छ ।
उहाँले ह्वाइट हाउसको संचार निर्देशकका रुपमा सेवा गर्ने अवसर प्रदान गर्नुभएकामा बाइडेन र ह्यारिस दुबैलाई धन्यवाद दिनुभएको छ ।गोरखापत्रबाट साभार