ज्ञानेन्द्र पोखरेल
बर्दिया,जेठ २२ / बढैयाताल गाउँपालिकाले युवालाई सीपमूलक तालिम दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालिकाले ४० जना युवायुवतीलाई प्लम्बर र इलेक्ट्रिसियन तालिम दिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालिकामा १ सय दिन रोजगारीको लागी आवेदन दिएका युवाहरू मध्येबाट २० जनालाई प्लम्बर र २० जनालाई इलेक्ट्रिसियन तालिम दिइएको जानकारी बढैयाताल रोजगार शाखाका प्रमुख भरत विकले बताए । उनले भने, ‘तालिमको सहजीकरण स्कल ट्रेनिङ एण्ड रिर्सच कन्सल्टेन्सी प्रालि नेपालगञ्जले गरेको हो भने तालिममा २६ जना महिला र १४ जना पुरुषको सहभागिता रहेको थियो ।’
शान्ति परियारले तालिम महत्वपूर्ण रहेको तर छोटो समयको भएको कारण निपूर्ण हुन नसकिएको बताईन् । ‘आगामी दिनहरूमा एडभान्ससम्मको तालिमको आवश्यकता छ,’उनले भनिन्,‘तालिममा सिकेको सीपलाई व्यवहारिक जीवनमा प्रयोग गरी आर्थिक आर्जनसंग जोडिने छौं ।’ तालिममा सहभागी युवायुवतीहरूलाई समापन कार्यक्रमको आयोजना गरी प्रमाणपत्र दिइएको थियो ।