बर्दिया,साउन १(फरकसमाचार) / गुलरियाका ४० र बाँसगढीका १३ गरि ५३ जनालाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ । ५३ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले बुधबार जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको हो । दुवै पालिकाको समन्वय र सहकार्यमा भूमि समस्या समाधान आयोग जिल्ला समिति बर्दियाले जग्गाधनी दर्ता प्रमाण पूर्जा हस्तान्तरण गरेको छ ।
लामो समयको पर्खाइपछि जोतभोग गर्दै आएको जग्गाको प्रमाण पूर्जा प्राप्त गर्दा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको अनुहारमा चमक झल्किएको थियो ।
गुलरिया नगरपालिकाका ४० जना र बाँसगढी नगरपालिका १३ गरि ५३ जनालाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ । गुलरियका ४० जनालाई ७ हजार ७ सय २७ दशमलव ९८ वर्गमिटर र बाँसगढीका १३ जनालाई १३ हजार ४ सय २७ दशमलव २३ वर्गमिटर जग्गाको प्रमाण पूर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समितिले जनाएको छ । जोतभोगको आधारमा एक परिवारलाई १२ धुर देखि डेढ कठ्ठासम्म जग्गाको प्रमाण पूर्जा दिईएको छ ।
विस २०४६ साल देखि भोगचलन गर्दै आएको जग्गाको प्रमाण पूर्जा पाउँदा बाँसगढी नगरपालिका–४ का ७२ वर्षीय भिम बहादुर सुनारले खुसी साटे । ‘३६ वर्षको पर्खाइपछि जग्गाधनी बनियो,’उनले भने,‘लामो समय कुरेर जग्गाको मालिक बन्न पाउँदा धेरै खुसी लागेको छ ।’
त्यसैगरि हातमा जग्गाको प्रमाण पूर्जा समाएर यताउता गुमिरहेका गुलरिया नगरपालिका–४ कैलाश नगरका विष्णु गोडिया खुसीले फुरुकै थिए । ‘विस २०२१ साल देखि भोगचलन गर्दै आएको जग्गाको प्रमाण पूर्जा हातमा परेको,’गोडियाले भने,‘लामो संघर्षपछि पूर्जा पाएर वासको ठेगान पक्का हुँदा तनावमुक्त भएको छु ।’
‘गुलरियामा सुकुम्बासीको लागि जग्गा नाप जाँचको काम तिव्र गतिमा भईरहेको थियो,’गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले भने,‘तर,गुलरिया नपा.२ स्थित संगम बस्तीमा भईरहेको काम डिभिजन वन कार्यालयले रोकेको छ ।’ वन क्षेत्र नभएको ठाउँमा वनले हस्तक्षेप गरेको नगर प्रमुखले आरोप लगाए । यो समस्याको तत्काल समाधानको लागि संसदमा आवाज उठाउन नगर प्रमुख यादवले संघिय सांसद तथा पुर्वमन्त्री संजय कुमार गौतमसंग आग्रहसमेत गरे ।
भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुको समस्या समाधानको लागि सबै जना मिलेर काम गर्नुपर्ने संघिय सांसद तथा पुर्वमन्त्री संजय कुमार गौतमले बताए । ‘वास्तविक भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले जग्गा प्राप्त गर्नुपर्छ,’संघिय सांसद गौतमले भने,‘तर,भूमिहीनको नाममा अरु व्यक्तिले फाइदा लिन खोज्छन्,त्यसतर्फ आयोगका साथीहरु चानाखो हुन जरुरी छ ।’
यही आर्थिक वर्षमा केही उपलब्धि निकाल्न गरेको अठोट अनुसार सुकुम्बासीलाई आज जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न पाउँदा धेरै खुसी भएको भुमि समस्या समाधान आयोग बर्दियाका अध्यक्ष अरुण प्रकाश सिंह राठोरले बताए । ‘यस कार्यमा सघाउँने सबैलाई धन्यवाद छ,’उनले भने,‘भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनीको प्रमाण पूर्जा वितरणको गति रोकिने छैन ।’ भुमि समस्या समाधान आयोग समिति बर्दियाका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरि ४५ हजार बढीले जग्गा दर्ता प्रमाण पूर्जा प्राप्तीको लागि निवेदन दिएका छन् ।