कमसल सडकको रकम भुक्तानी रोकियो
आइतबार, साउन ०५, २०८२ मा प्रकाशित

बर्दिया,साउन ४ / ठाकुरबाबा नगरपालिका–९ बानुगाउँस्थित बनाइएको कमसल कालोपत्र सडकको रकम पालिकाले रोक्का गरेको छ । कालोपत्रको नाममा सडकमा रोलरले नदबाएर गिट्टी मात्र बिछ्याइएकोले उप्किएको हो ।

असार २४ गते राति पालिकाका मेयर, उपमेयर लगायतले उक्त सडक नबनाउन आग्रह गर्दा निर्माण व्यवसायीले जबरजस्ती बनाएको आरोप छ । रोयल लक्ष्मी ओम नमः जेभी दाङका ठेकेदार कम्पनीले रातारात उक्त सडक कालोपत्र गरेको थियो । उक्त सडकको चर्को विरोधसँगै जनप्रतिनिधिले काम रोक्न दबाब दिएका थिए ।

शुक्रबार पालिकाका प्रमुख तिलक लम्साल, उपप्रमुख विना भट्टराईसहित सञ्चारकर्मीले सडकको अनुगमन गरेका छन् । उपप्रमुख भट्टराईले रोलर नलगाइ तारकुल र गिट्टी छरेकोले उप्किएको बताइन् । ‘सजिलै हातले गिट्टी सार्ने सकिन्छ, असार सकिन लागेको भन्दै भुक्तानी लिन ठेकेदार कम्पनीले यस्तो गरेको पाइएको छ,’ उनले भनिन्, ‘ठेकेदार कम्पनीलाई काम रोक्न भन्दाभन्दै कमसल काम गरेको छ ।’

पालिकाको बजेटमा ठाकुरद्वारादेखि हात्तीसार जाने बाटोमा उक्त सडक कमसल बनाइएको छ । २ किमी १ सय मिटर सडक कालोपत्रेका लागि भ्याट बाहेक २ करोड ११ लाखको ठेक्का दिएको हो । पालिका प्रमुख लम्सालले साउन १२ गते भित्र सडक पुनः निर्माण गर्न पत्राचार गरेको बताए । ‘उनले पाउने भुक्तानी रोकेका छौँ,’उनले भने, ‘समयमा काम गरेनन् भने ठेक्का तोडिने छ ।’स्रोत इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय