बर्दिया,साउन ४ / ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र पर्यटनलाई प्राथमिकतासाथ अघि बढाएको पाइएको छ। असारसम्म राज्य कोषबाट लगानी गरेर निर्माण गरिएको पूर्वाधारको अनुगमनमा ठाकुरबाबा नगरपालिकाले पूर्वाधार र सफ्टवेयरका कामलाई एकसाथ अघि बढाएको देखिएको छ।
असार अन्तिममा विकास निर्माणले तीव्रता पाउँदा कमसल खालका संरचना निर्माणमा राज्यको ढुकुटी दोहन गर्ने आलोचनालाई बेवास्ता गर्दै ठाकुरबाबा नगरपालिकाले पत्रकारसहित जनप्रतिनिधिको टोलीलाई स्थलगत अनुगमन गराएको थियो।
जर्मनी विद्यार्थीको श्रम र लगानीमा शारदा माविमा कम्प्युटर ल्याब र पुस्तकालयको व्यवस्थापनले छात्र र छात्रालाई अध्ययन गर्न सहज भएको छ। एकीकृत गाईको गोठ व्यवस्थापनबाट उत्पादित दूध गुरुकुल विद्यार्थीलाई दिँदा नगरवासीको सहयोगमा गाई संरक्षण र शिक्षालाई जोड्न नगरपालिका सफल भएको छ।
यसरी चलाएको शिक्षाले जिल्लाको एकमात्र गुरुकुल ठाकुरबाबा नगरपालिका भित्र सञ्चालनमा छ। ठाकुरबाबा नगरपालिका भित्र पूर्वाधार निर्माणतर्फ ६१ किलोमिटर सडक खण्ड पर्ने २८ किलोमिटर पूर्णरूपमा कालोपत्रे सम्पन्न गर्न सफल भएको छ भने तीनतिर रहेको बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु रोक्न करिब चार किलोमिटर रिटेनिङ वाल निर्माण गरिएको छ।
एकदेखि ९ नम्बरसम्मका भए गरेका विकासमा निर्माण कतै त्रुटि नरहेको नगरपालिका प्रशासनले जानकारी दिएको छ। एक वर्षभित्र निर्माण भएका विकासका विषयमा गम्भीर भएर भुक्तानी दिएको प्रमुख प्रशासकीय अधिकृत नारायण ढकालले बताए। ‘काम गर्ने निर्माण कम्पनीको भुक्तानीमा बाधा अडचन हुने कुरै भएन,’ उनले भने, ‘तर, त्रुटि गर्ने निर्माण कम्पनीको भुक्तानी पनि रोकिएको छ, काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ।’
नगरपालिकाले आन्तरिक आयतर्फ ९ करोड ९३ लाख संकलन गरेको छ। विगतको तुलनामा पहिलोपटक १०७ प्रतिशत बढी रकम नगरपालिकाले संकलन गरेको हो।
नागरिक अपेक्षाअनुरूप ठाकुरबाबाभित्र विकास निर्माणका काम गरेको नगर प्रमुख तिलकराम लम्सालले दाबी गरे। ‘नगरवासी प्रत्यक्ष लाभान्वित हुने गरी विकासलाई अघि बढाएका थियौं,’ उनले भने, ‘शिक्षा क्षेत्रमा नम्बर एक नगरपालिका बनाउन समेत सफल भएका छौं।’ ‘नमुना विद्यालयमा जिल्लामा सबैभन्दा बढी विद्यार्थी छन्। यो नगरपालिकाको लागि खुसीको कुरा हो,’ उनले भने।
बजेट सीमितताका बीच पूर्वाधार र सफ्टवेयरका काम सोचेअनुरूप अघि बढेकाले आत्मसन्तुष्टि मिलेको उपप्रमुख बिना भट्टराईले बताइन्। ‘बर्दिया निकुञ्जसँग अधिकांश वडा जोडिएको छ, नागरिकलाई सुरक्षित पर्खाल र सिँचाइसँगै अघि बढाउने उद्देश्यले काम भइरहेको छ,’ उपप्रमुखले भनिन्, ‘निकुञ्जले तीनतिरबाट घेरेको ठाकुरबाबालाई विशेष क्षेत्रका रूपमा राज्यले नहेर्दा दुख लाग्छ।’स्रोत नागरिकन्युज