चितुवाको आक्रमणबाट महिलाको मृत्यु
आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित

बर्दिया,भदौ १ / चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१२ भैंसाहीकी अन्दाजी ४५ वर्षीया जगतरानी थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । थारुको शव उखुबारीमा टाउको र शरीर अलग भएको अवस्थामा शनिबार बिहान शव फेला परेको छ । मृतक थारु शुक्रबार साँझ देखि बेपत्ता भएकी थिईन् ।

खेतमा धान गोड्न गएको बेला चितुवाले आक्रमण गरि महिलालाई बेपत्ता बनाएको थियो । घटना स्थलमा थारुको चप्पल, बोरीमा घाँस र हाँसिया भेटिएको छ । यस्तै घटना स्थलमा रगत र चितुवाको पाइलासमेत भेटिएको छ । घटना स्थल देखि एक सय मिटर उखुबारीमा महिलाको शव फेला परेको हो । मृतकको गाउँमै माईता रहेकोले उतै बस्नुभएको होला भनेर शुक्रबार साँझ खोजी नगरेको उनको बुहारी निरु थारुले जनाईन् ।

शनिबार बिहान उखुबारीमा घाँस काट्न गएको स्थानीयहरुले महिलाको शव देखेपछि गाउँमा अन्य व्यक्तिहरुलाई खबर गरेका थिए । प्रहरीले मुचुल्का गरेर शव उठाएर पोष्टमार्टमको लागि बर्दिया अस्पताल लगेको डिभिजन वन कार्यालयका वरिष्ठ फरेष्टर कृष्ण घिमिरेले बताए । चितुवा नियन्त्रणको लागि हामी फिल्डमा खटिएको उनले जनाए ।

चितुवा गाउँ वरिपरि पटक पटक देखिदाँ पनि सम्बन्धित निकायले कुनै वास्ता नगरेको स्थानीय छेदुलाल थारुले बताए । ‘अस्ति बंगुर बाँधेको खोर नजिक चितुवा समसाँझै बसेको थियो,’उनले भने,‘हल्ला गरेपछि भागेको थियो ।’ यस्तै गाउँको वरिपरि दिनहुँ देखिने चितुवाले कुकुर खाएर सिध्याएको स्थानीयले बताएका छन् । मृतक महिलाको श्रीमान र ठुलो छोरा रोजगारीका क्रममा बाहिर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय