दुई साता अघि भारतबाट फर्किएका नन्दु चितुवाको आक्रमणमा अस्ताए
आइतबार, माघ २६, २०८२ मा प्रकाशित

बर्दिया, माघ २५ / भारतमा मजदुरी गर्ने छोरा घर फर्किएको १५ दिनमात्र भएको थियो । केही दिन घरपरिवारसँगै बस्ने भनेर फर्किएको छोरा सधैको लागि अस्ताएपछि गुलरिया नगरपालिका–४ तुल्सीपुरकी ६१ वर्षीया सितला रोकायका आँशु रोकिएका छैनन् ।

उनी शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडि काखमा ९ वर्षीया नाति च्यापेर भक्कानिँदै गरेकी थिइन् । मृतकका ९ वर्षीया छोरा रितिक रोकाय पनि बुवालाई सम्झेर रोइरहेका थिए । मृतककी श्रीमती सुस्मा रोकाय रुदाँरुदै बेलाबेला अचेत भइरहेकी थिइन् ।
चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ का ३५ वर्षीय नन्दु रोकाय र मधुवन नगरपालिका–९ की ४९ वर्षीया मैसरा डाँगीको बिहीबार मृत्यु भएको हो ।

पछिल्लो समयमा मजदुरी का लागि नन्दु भारतको केरेलामा बस्दै आएका थिए । उनका दाई रोजगारीको लागि खाडीतिर छन् भने भाई
केरेलामै छन् । रोजगारीबाट लामो समयपछि उनी परिवारलाई भेट्न आएका थिए । समस्याग्रस्त वन्यजन्तु नियन्त्रणको माग गर्दै आक्रोशित स्थानीयले शुक्रबार जिल्ला प्रशासनमा पुगेर प्रदर्शन गरेका थिए ।

जेठी, माइली बुहारी र माइलो छोरा लगायत अन्य छिमेकी बाख्राको लागि नजिकैको सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गरेको सितला रोकायले बताइन् । ‘बाटोको किनारमै घाँस काट्ने बेलामा चितुवाले मेरो छोरा लाई शिकार बनायो,’ उनले भनिन्,‘लामो समयदेखि चितुवाले सर्वसाधारणलाई शिकार बनाउँदा समेत सम्बन्धित निकायले चासो देखाएको छैन ।’ यस्ता नरभक्षी चितुवालाई सम्बन्धित निकायले तत्काल नियन्त्रणमा लिन उनले माग गरिन् । चितुवा दैनिक घर वरिपरि देखिने गरेको गुलरिया नगरपालिका–४ की उमा भण्डारीले बताइन् । ‘रातिमा बाहिर निस्कनसमेत डर लाग्छ,’ उनले भनिन्,‘यस्तो त्रासमा हामी कहिलेसम्म बाँच्नु ।’

चितुवा गाउँमा दिनहुँ पस्दा डिभिजन वन कार्यालयलाई खबर गर्दा समेत कुनै वास्ता नगरेको गुलरिया नगरपालिका–८ का रामु लोधले बताए । ‘जब चितुवाले मानिसलाई मार्छ, तब मात्र प्रशासन र सम्बन्धित निकायले आँखा खुल्छ,’ उनले भने,‘घटना भइसकेपछि मात्र देखावटीको लागि एक दुई दिन केज थाप्ने गर्छन्, त्यसपछि उठाएर लैजान्छन् ।’

मृतक परिवारलाई उचित क्षतिपुर्ति दिने, समस्याग्रस्त बाघ र चितुवा तत्काल नियन्क्रण लिने सर्तमा शुक्रबार प्रशासनसँग लिखित सहमति भएको गुलरिया नगरपालिका–४ का वडाध्यक्ष सुरेश गौतमले बताए । यस विषयमा थप बुझ्न जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवंम् सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी सम्पर्कमै आउन चाहेनन् । समस्याग्रस्त चितुवाको खोजी गरिने डिभिजन वन कार्यालयका सूचना अधिकारी शिव बहादुर केसीले बताए ।स्रोत ईकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर