खेलकूद विकासमा सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री गुरुङ
बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित

कास्की, फागुन २२ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेल प्रतियोगितालाई सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन । सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा शुरु भएको १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप’को उद्घाटन गर्दै उनले कोरोना सङ्क्रमणको कठिन परिस्थितिमा सञ्चालन हुन लागेको प्रतियोगितालाई सफल बनाउनु सबैको दायित्व रहेकामा जोड दिए ।

मुख्यमन्त्री गुरुङले आहा रारा गोल्डकपसहित गण्डकी प्रदेशमा सञ्चालन हुने अन्य प्रतियोगितालाई सफल बनाउन सरकारले आफ्नो तर्फबाट सहयोग उपलब्ध गराउने विश्वास दिलाउँदै सरकारले खेलकूद विकासलाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो । प्रतिनिधिसभा सांसद एवं प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले सहाराले खेल माहोल बढाएकाले निरन्तर प्रायोजन गरेर सहयोग गरेको उल्लेख गरे ।

प्रतियोगिता उद्घाटनका अवसरमा राष्ट्रिय फुटबल टोलीका सदस्य सुजल श्रेष्ठलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट नगद ३५ हजार तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

आयोजक सहाराको विजयी शुरुआत

प्रतियोगिताको आज भएको उद्घाटन खेलमा ब्रिगेड ब्याइज क्लबलाई ३–२ गोलअन्तरले पराजित गरी आयोजक टोली सहारा क्लब क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलको २८औँ मिनेटमा आयोजक टोलीका जीवन रायमाझी दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि सहारा दबाबमा परेको थियो । यद्यपि यसको फाइदा विपक्षी टोलीले खेलमा लिन सकेन ।

पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएकामा खेलको ५८औँ मिनेटमा बिग्रेडका काजिम बुसरीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको कोही मिनेटमै सहाराले बराबरी गोल फर्कायो । ६३औँ मिनेटमा विदेशी खेलाडी उलरिचले गोल गरेका थिए । त्यसको एक मिनेटलगत्तै बिग्रेडका विजय गुरुङले गोल गर्दैै टोलीलाई पुनः अग्रता दिलाउनुभएकामा ७९औँ मिनेटमा सहाराका त्रिदेव गुरुङले बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेटको खेल समयमा दुवै टोलीबाट समान दुई÷दुई गोल भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएकामा १००औँ मिनेटमा सहाराका त्रिदेव गुरुङले नै निर्णायक गोल गर्दै टोलीलाई पहिलो खेलमा सफलता दिलाउनुभएको हो । गुरुङ ‘म्यान अफ दी म्याच’ घोषित भई पाँच हजार पुरस्कार तथा ट्रफी प्राप्त गरे ।

आगामी चैत १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख एक हजार तथा उपविजेताले पाँच लाख एक हजार धनराशि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकलाई समेत जनही १५ हजारका दरले पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई समेत पाँच हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजक सहारा क्लबसहित ब्रिगेड ब्याइज, थ्रीस्टार क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङदी, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, सङ्कटा, झापा–११ फुटबल क्लब र गान्टोङ सिटी फुटबल क्लब भारत गरी १० टोलीको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर