हङकङद्वारा मलेशिया पराजित
शनिबार, फागुन २४, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन २४ : मलेशियालाई पराजित गर्दै हङकङ एसीसी एशिया कप छनोट प्रतियोगिताका लागि छनोट भएको छ । थाइल्यान्डमा सम्पन्न एसीसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटमा हङकङले मलेशियालाई छ विकेटले पराजित गरेको हो । यस प्रतियोगिताबाट शीर्ष दुई टोलीले एशिया कप छनोटमा स्थान बनाउने प्रावधान रहेको छ । हङकङ उपविजेता बन्दै एशिया कपमा छनोट भएको हो ।

थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा आज सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा मलेशियाले जितका लागि दिएको १३३ रनको लक्ष्यलाई हङकङले १८ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । हङकङका शाहिद वासिफले ५० रनको अर्धशतकीय इनिंस खेल्दा जेम्स जोनले अविजित ३३ रन बनाए । बलिङतर्फ मलेशियाका पवनदीप सिंहले दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको थियो । उसका लागि भिरणदिप सिंहले ३३, सायद अजिजले ३० तथा खिजार हायतले २२ रन बनाउनुभएको थियो । हंकङका मोहमद अजिज खानले दुई विकेट लिए । हङकङले चार खेलमा छ अंक जोडेको हो । प्रतियोगिताको उपाधि भने सिंगापुरले जित्यो । सिंगापुरले सात अंक जोड्दै उपाधि जितेको हो ।

आजै हुने भनिएको नेपाल र सिंगापुरबीचको खेल वर्षाका कारण टस नै गर्न नपाइ रद्द भएको थियो । वर्षाले मैदान खेल्न योग्य नभएपछि दुवै टोलीले एक/एक अंक बाँडेका थिए । नेपाल भने यसअघि नै प्रतियोगितबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर