खोटाङ, फागुन २६ : जिल्लाकै सर्वाधिक ठूलो धनराशिको ‘बाक्सिला गोल्डकप’को ११ औँ संस्करणमा आयोजक बाक्सिला फुटबल क्लबले उपाधि चुमेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारस्थित स्थानीय पृथ्वी माविको खेलमैदानमा आइतबार दिउँसो भएको फाइनल खेलमा सोल्मा स्पोट्स क्लबलाई शून्यका विरुद्ध दुई गोल गर्दै आयोजक बाक्सिला फुटबल क्लबले उपाधि चुमेको हो ।
खेलको पहिलो हाफको ३७ औँ मिनेटमा बाक्सिला फुटबल क्लबका जर्सी नम्बर–११ का सुशन तामाङले गोल गर्दै जीतका लागि खाता खोलेका थिए । त्यस्तै मध्यान्तरपछि बाक्सिला फुटबल क्लबकै जर्सी नम्बर–८ का सौरभ कार्कीले अर्काे गोल थपेपछि टोलीले ११ औँ संस्करणको उपाधि चुमेको हो ।
खेल अवधिको म्यान अफ द म्याच बाक्सिला फुटबल क्लबकै जर्सी नम्बर–५ का खेलाडी रुपेश भुजेल भए । खेलमा विजयी भएसँगै बाक्सिला फुटबल क्लबले नगद दुई लाख ११ को साथमा गोल्डकप, मेडक र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता बनेका सोल्मा स्पोर्ट क्लबले नगद ९९ हजार ९११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका सेमिफाइनलिष्ट दुई टोली साविक विजेता खारम्बु स्पोर्टस क्लब खार्मी र हलेसी तुवाचुङ स्पोर्टस् क्लबलाई नगद २० हजार ११/२० हजार ११ को साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक बाक्सिला फुटबल क्लबका अध्यक्ष शिवकुमार राईले बताए ।
मोफसलमा फुटबल खेलको व्यावसायिक विकासको लक्ष्य लिएर विसं २०६२ देखि सञ्चालन हुँदैआएको ११ औँ संस्करणमा बेष्ट प्लेयर बाक्सिलाका विकी राई र सर्वाधिक गोलकर्ता बाक्सिलाकै सुशन तामाङलाई जनही नगद ११ हजार १११ को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । खेल अवधिका बेष्ट गोलकिपर बाक्सिलाकै रेम्बो चौधरी, बेष्ट डिफेण्डर सोल्माका दीपक भुसाल र बेष्ट कोच बाक्सिलाका लक्ष्मण तामाङलाई जनही नगद पाँच हजार ११ को साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
आयोजकले हरेक वर्ष प्रदान गर्दै आएको खेलकूद पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष एवं नागरिक दैनिकका संवाददाता दमन राईलाई प्रदान गरेको छ । आयोजकले प्रदान गरेको नगद पाँच हजार ११ राशिको सो पुरस्कार महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने राईले बताए ।
विजयी खेलाडीलाई प्रदेशसभा सदस्य राजन राई र केपिलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले संयुक्तरुपमा प्रदान गरे । प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडीलाई नगद दुई हजार ११ को साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । फागुन २२ गतेबाट शुरु प्रतियोगितामा सहभागी टोलीलाई प्रोत्साहनस्वरुप जनही २०/२० हजार नगदसमेत प्रदान गरिएको आयोजक बाक्सिला फुटबल क्लबका सचिव पवन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा सहभागी टोलीलाई यस वर्ष प्रवेश शुल्कसमेत नलिइएको आयोजकले जनाएको छ ।
गोल्डकपमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्यतासमेत पाएको जिल्ला फुटबल संघमा आबद्ध दश क्लबमध्ये आठ क्लबले मात्र सहभागिता जनाएको थियो । प्रतियोगितामा खारम्बु स्पोर्टस् क्लब, बाक्सिला फुटबल क्लब, सोल्मा स्पोर्टस् क्लब, नेर्पा स्पोर्टस् क्लब, हलेसी तुवाचुङ स्पोर्टस् क्लब, जन्तेढुंगा स्पोर्टस् क्लब, खोटाङ भगवती स्पोर्टस् क्लब र हलेसी खेलकूद विकास समितिको सहभागिता जनाएको हो ।
चन्दा संकलन तथा दाताको सहयोगमा सञ्चालन हुँदै आएको गोल्डकपका लागि केपिलासगढी गाउँपालिकाले पाँच लाख आर्थिक सहयोग गरेपछि क्लबले यस वर्षको प्रतियोगिताको नाम ‘११ औँ केपिलासगढी बाक्सिला रनिङ गोल्डकप’ राखेको थियो । गोल्डकप सञ्चालन गर्न नगद पाँच लाखभन्दा बढी सहयोग गर्ने व्यक्ति तथा संस्थाको नाम गोल्डकपको अगाडि राख्ने निर्णय भएअनुसार यस वर्ष ‘११ औँ केपिलासगढी बाक्सिला रनिङ गोल्डकप’ राखिएको आयोजकले जनाएको छ ।
जिल्लामा फुटबल खेलको व्यावसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रवद्र्धन गर्न ‘बाक्सिला गोल्डकप’लाई निरन्तरता दिइएको आयोजकले जनाएको छ । विगत १५ वर्षअघि शुरु गरिएको ११ औँ संस्करणको प्रतियोगिता प्रतिनिधिसभा सदस्य एवं नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विशाल भट्टराईले उद्घाटन गरेका थिए ।
दश स्थानीय तह रहेको जिल्लामा गोल्डकप सञ्चालन गर्दै आएको बाक्सिला फुटबल क्लबले जिल्लामा फुटबल खेलको विकासमा ठूलो टेवा पुर्याएकाे बताइएको छ । जिल्लामा निरन्तर गोल्डकप सञ्चालन गर्दै आएको बाक्सिला फुटबल क्लब जिल्लाकै एक मात्र र आधिकारिक फुटबल क्लब हो ।