कोरोना भाइरस प्रकोप : भारतले पनि सबै पर्यटक भिसा बन्द गर्‍यो
शुक्रबार, फागुन ३०, २०७६ मा प्रकाशित

नयाँ दिल्ली, फागुन ३० : विश्वव्यापीरुपमा बढ्दो प्राणघातक कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि पर्यटक भिसा बन्द गरेको छ । भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द गरेको अधिकारीले जानकारी दिएका छन् ।

साथै भारतले कोरोना भाइरसको प्रकोप रहेका विश्वका विभिन्न सात ओटा देशबाट आएका नागरिकलाई अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्ने बताएको छ । भारत सरकारले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी गराइएको समाचारमा जनाइएको छ ।

आजै मध्यरातिदेखि भारतले यस्ता भिसा बन्द गर्ने जनाएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ तर यसअन्तर्गत कूटनीतिक प्रयोजनका लागि आवश्यक, अन्तरराष्ट्रिय संस्थाका भिसा, रोजगारीसम्बन्धी र आयोजनाका भिसा भने यथावत नै रहने बताइएको छ ।

भारत सरकारले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा चीन, इटाली, इरान, गणतन्त्र कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आउने पर्यटकलाई अनिवार्यरुपमा क्वारेन्टाइनमा राखिने पनि जनाएको छ ।

ती देशबाट भारत प्रवेश गर्ने नागरिकलाई कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको भारत सरकारको प्रेस इन्फरमेसन ब्युरोले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

भारतमा कोरोना भाइरसका केही संक्रमित फेला परेका छन् तर यसबाट कसैको मृत्यु भने भएको छैन । विश्वका ११० भन्दाबढी देशमा यसको संक्रमण देखिएको छ । अहिलेसम्म यसबाट मृत्यु हुने नागरिकको संख्या चार हजार ५०० पुगेको बताइएको छ ।

यसमध्ये ५० हजारभन्दा बढी उपचारपछि घर फर्किएका छन् । यस भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तको उहानमा भने अब नियन्त्रणतर्फ आएको समाचारमा जनाइएको छ । चीनबाट निस्किएको यो प्रकोपबाट अहिले भने युरोप र एसियाका केही देश बढी प्रभावित भएका छन् । इटाली यसबाट चीनपछि सबैभन्दा बढी प्रभावित भएको छ भने इरान, दक्षिण कोरिया आदि देशमा पनि यो पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर