धनुषा, चैत १ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले यही आर्थिक वर्षभित्र जनकपुर–जयनगर रेल सञ्चालन हुने बताएका छन् । नेपाल रेल्वेको निरीक्षण गर्न शुक्रकार जनकपुरधाम आएका मन्त्री नेम्वाङले जसरी पनि आगामी तीन–चार महिनाभित्र रेल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री नेवाङले रेलको चालकदेखि करिब तीन सय प्राविधिकको दरबन्दी स्वीकृत भइसकेको र अब नीतिगत कुराहरू गर्न बाँकी रहेको बताए । जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा यसै आर्थिक वर्षदेखि रेल गुड्ने मन्त्री नेम्वाङले दाबी गरे । उनले भने, ‘रेलमार्ग तयार भइसकेकाले विदेशबाट दक्ष कर्मचारी मगाएर पहिलो चरणमा कुर्थासम्म, दोस्रो चरणमा बर्दिबाससम्म र पछि निजगढसम्म रेल गुड्नेछ ।’
मन्त्री नेम्वाङका अनुसार रेल गुडाउन पाँच–सातजनाको प्राविधिक टोलीमात्र भारतबाट ल्याइनेछ । उनले यहाँ दक्ष प्राविधिक तयार भइसकेपछि भारतीय टोलीलाई फिर्ता गरिने बताए ।
यात्रुवाहक एक रेल तयारी अवस्थामा रहेको र अर्को बनिरहेको जानकारी गराउँदै मन्त्री नेम्वाङले आवश्यकताका आधारमा मालवाहक रेलसमेत सञ्चालनका लागि पहल हुने जानकारी दिए । नेपाल रेल्वेले गरेको कर्मचारी विज्ञापनको मापदण्डअनुसार एकजना पनि दक्ष जनशक्ति नेपालमा उपलब्ध नहुने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री नेम्वाङले नेपालमा उपलब्ध नभए विदेशबाट करारमा नियुक्त गर्ने बताए ।
मन्त्री नेम्वाङसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, रेल्वे विभागका महाप्रबन्धक बलराम मिश्रलगायतका समेत निरीक्षण टोलीमा सहभागी हुनुहुन्थ्यो । टोलीले रेल्वेको अवलोकनपछि जनकपुरधाम–जटहीसम्मको ६ लेन सडकको समेत निरीक्षण गरेको थियो ।
राजधानी नामकरणका लागि मतदान हुने
यसैगरी प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि चैत ४ गते मतदान हुने भएको छ । तीन महिनापछि शुक्रकार बसेको प्रदेशसभामा प्रदेशको नाम र राजधाननी तोक्न गोप्य मतदानका लागि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै चैत ४ गते ८ बजे बिहान मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको छ ।
बैठकमा अध्ययन विशेष समितिले मतदानका लागि तयार पारेको प्रतिवेदन राजपाका प्रमुख सचेतक परमेश्वर साहले प्रस्तुत गरेको थियो । समितिको संयोजक सभामुख सरोजकुमार यादव रहे पनि उनीकै निर्देशनमा सचेतक साहले सो प्रतिवेदन पेश गरेको थियो ।
समितिमा राजधानीका लागि जनकपुरधाम र वीरगञ्जसहित तीन प्रस्ताव र नामकरणका लागि चार प्रस्तावमा निर्वाचन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअघि प्रमुख सचेक सम्मिलित बैठकले सभाका सचिव निर्वाचन अधिकृत रहने गरी निर्वाचनको कार्यविधि र आचारसंहिता तयार पारेर सभामुख यादवलाई बुझाइसकेको छ ।