लन्डन, चैत ८ : यसै साता लिभरपुल ३० वर्षपछि पहिलो पटक इङ्लिस प्रिमियर लिग विजेता बन्ने सम्भावना थियो । तर त्यसको सट्टा सो रंगशाला बन्द र सुनसान रह्यो । एभर्टनविरुद्ध जितका साथै दोस्रो स्थानको म्यानचेस्टर सिटीको हार हुँदा योर्गान क्लोपको टोली ऐतिहासिक क्षणमा पुग्ने सम्भावना थियो ।
त्यसका लागि पछिल्लो तय खेलमा प्रिमियर लिगमा बर्नलीले म्यानचेस्टर सिटीलाई निराश पारेको भने हुनुपथ्र्याे । ३० वर्षपछि प्रिमियर लिगको विजेता बन्ने संघारमा रहेको लिभरपुल स्वाभाविक रूपमा लिग सञ्चालन भएको भए सो उपलब्धि हासिल गर्ने थियो ।
तर अब समर्थक अन्योलमा छन् । विश्वभर कोरोना भाइरसको त्रासका कारण एकपछि अर्को खेल गतिविधिमा रोक लगाइएको छ । त्यसबाट प्रिमियर लिग पनि टाढा रहन सकेन । विभिन्न अड्कलबाजी चलिरहँदा समर्थकलाई कम्तीमा अहिलेको अवस्था स्वाभाविक नबन्दासम्मका लागि कुर्नुको विकल्प छैन ।
लिभरपुल आफैं भने उपलब्धिको संघारभन्दा पनि समर्थक र खेलाडीको स्वास्थ्य प्राथमिकता रहेको भन्दै एफएको यो निर्णयको स्वागत गरिरहेको छ । ‘मैले सधंै फुटबल अन्य कुराभन्दा महŒवपूर्ण रहेको बताउँदै आएको छु,’ क्लोपले भने, ‘तर अहिलको अवस्थामा फुटबल खेललाई मात्र प्राथमिकतामा राख्नु व्यावहारिक देखिँदैन । फुटबल र मानिसको स्वास्थ्यलाई तुलना नै गर्न मिल्दैन र यसले कुनै अर्थ पनि राख्दैन ।’
विश्व स्वास्थ संगठन (डब्लुएचओ) का प्रमुख टेर्डोेस एडेहानोम गाब्रियसले क्लोपको प्रतिक्रियाले बलियो सन्देश समेटेको भन्दै उनलाई धन्यबाद दिएका छन् । साथै प्रिमियर लिगको उपाधि जितेका हेर्न आतुर लिभरपुलका समर्थकहरूले पनि अहिलेको अवस्थामा कोरोना भाइरसले सम्पूर्ण खेल गतिविधिलाई छायामा पारेको भन्दै क्लोपको भनाइको समर्थन गरेका छन् ।
यता लिभरपुल आफैंले भने पछिल्लो केही खेलयता स्वाभाविक प्रदर्शन गर्न सकिरहेको थिएन । एफए कपमा चेल्सीसँग निराश हुँदै प्रतियोगिताबाट बाहिरिएको लिभरपुल च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने होडबाट समेत बाहिरिसकेको छ । क्लोपको टोली एट्लेटिको मड्रिडसँग समग्रमा ४–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
तर प्रिमियर लिगमा भने लिभरपुलले स्वाभाविक प्रदर्शन गरेको थियो । दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि शीर्ष स्थानको लिभरपुलले बनाएको २५ अंकको अग्रताले पनि त्यसको पुष्टि गर्छ । ब्राइटनका प्रमुख कार्यकारी पाउल बार्बरले २०१९–२०२० को सिजन रद्द गरिए त्यो लिभरपुलमाथि अन्याय हुने बताएका छन् ।
‘लिभरपुलको लागि यो सिजन इङ्लिस प्रिमियर लिग उत्कृष्ट भन्ने सबैलाई थाहा नै छ । उनीहरूको टोली पनि बलियो छ,’ बार्बरले भने, ‘तर अहिले लिगमा कुनै टोलीले ८, कुनैले ९ र कुनै टोलीले १० खेल खेल्न बाँकी छ । त्यसैले सिजन रद्द गरिए त्यो रेलिगेसन क्षेत्रका टोलीलाई समेत अन्याय हुनेछ ।
तर वेस्ट ह्यामकी उपाध्यक्ष कारोन ब्राडेले भने खेल नियमित रूपमा सञ्चालन गर्न नसक्ने हो भने सिजनलाई रद्द गरिनुपर्ने धारणा राखेकी छिन् । ‘को रेलिगेसनमा पर्छ र को प्रिमियर लिगमै रहन्छ भन्ने कसलाई थाहा छ ?’ उनले भनिन् ।
लिभरपुलका समर्थकहरू आफूले समर्थन गरिरहेको टोलीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको हेर्न आतुर छन् । तर, कोरोना भाइरसले सम्पूर्ण खेल गतिविधिसँगै इङ्लिस फुटबललाई पनि प्रभावित बनाइरहेको छ । विभिन्न अड्कलबाजी चलिरहँदा समर्थकसँग कम्तीमा अहिलेको अवस्था स्वाभाविक नबन्दासम्मका लागि कुर्नुको विकल्प छैन । (एएफपी)