‘स्वावलम्बन हुँदा आत्मविश्वास बढेको छ’
आइतबार, चैत ०९, २०७६ मा प्रकाशित

जमुना वर्षा शर्मा

‘जिन्दगीमा आफूसँग नभएको कुराको खोजी कदापि गर्नु हूँदैन, जे छ त्यसलाई सदुपयोग गरेर आत्मविश्वास जगाउनुपर्छ । मैले जिन्दगीमा एउटा खुट्टा छैन भन्ने अनुभूति हुनै दिइनँ र त खुशी छु ।’

जन्मिएको ४५ दिनमै आगोमा परेर जलेको शरीरबाट एउटा खुट्टा गुमाएकी अञ्जना गुरुङ आज एक सफल सौन्दर्यकर्मी बनेका छन । गुरुङले छ महिनाको विशेष कोर्ष पूरा गरेर सौन्दर्यकर्मीका रूपमा आफूलाई उभ्याउन सफल भएको हो ।

प्लस टु सम्मको अध्ययन पूरा गर्र्नुभएकी २८ वर्षीय अञ्जनाले छ महिने ब्यूटीपार्लरर कोर्ष पूरा गरेसँगै छ महिना ‘भोलेन्टियर’ गरेपछि उनीको लगाव सौन्दर्य क्षेत्रमा बढेको हो । पोखराको घारीपाटनमा बस्नुहुने गुरुङ बुबा, आमा, एक दाजु र एक बहिनी छन् । निराशा र परनिर्भरताबाट मुक्त हुन सके जिन्दगी सार्थक हुने धारणा राख्नुहुने गुरुङले जीवनलाई संघर्षको रुपमा लिन रुचाउँछन् ।

उनले अपांगता भएका व्यक्तिप्रति समाज विस्तारै सकारात्मक हुँदै गएको अनुभव सुनाउनुभयो । ‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार भनेजस्तै म त समाज अपांगमैत्री हुँदै गएको, फरक क्षमता भएकालाई पनि अवसर मिल्दै गएको जस्तो लाग्छ ।’

आफ्नो जीवनका शुरुआती दिनदेखि नै सबै साथी, इष्टमित्र आफन्तको राम्रो साथ र मायाले जीवनमा ऊर्जा मिलेको उनीको अनुभव छ ।

‘सबैको साथले नै कर्म क्षेत्रप्रति निरन्तर अघि बढेकी छु’, गुरुङ भन्छन् ‘मसँग नभएको कुरा किन भएन भनेर कहिल्यै गुनासो गरिनँ, सायद जे नहुनु थियो त्यो भइसकेको थियो मेरो जीवनमा, मेरो आमालाई झन् त्यो समय कति पीडा भएको होला म आगोमा जल्दा, धन्न मलाई बेलैमा उपचार गरे र मेरो शरीरको एउटा अंग मात्र मैले गुमाएँ ।

यसबाहेक पनि मसँग धेरै कुरा छ । सबैभन्दा ठूलो मसँग इच्छाशक्ति र आत्मविश्वास छ ।’ ‘आफूले गुमाएको कुराभन्दा आफूसँग भएको कुराबाट जीवनलाई सुन्दर बनाउनु छ, आमाबुबा, दाजुबहिनी अनि सबै आफन्त इष्टमित्र शुभचिन्तकको अनुहारमा पनि खुशी दिनुछ, त्यसैले निराशाबाट धेरै टाढा छु, सार्थक र सफल जीवनको यात्रामा मेहेनत गरेकी छु, खुशी छु आफैसँग ।’

हरेक कुरालाई सकारात्मक दृष्टिकोणबाट हेर्ने र सिकाइमा सिर्जनशीलता खोजिरहने उनी एक सफल डान्सर पनि हुनुहुन्छ । सानोमा गीत गाउन रुचि राख्ने उनी विस्तारै नृत्यतर्फ आकर्षित भए । सानोमा साथीभाइ भैलो खेल्दा छेऊतिर कम्मर मर्काउँदै बस्ने उनले पछि एक खुट्टाले पनि बेजोड नृत्य गर्न सकिन्छ भनेर प्रमाणित गरिदिए ।

कक्षा ७ मा पढ्ने बेला अमरसिंह स्कूलमा विशेष कार्यक्रममा भारतीय राजदूतको अगाडि उनले नृत्य देखाएपछि उनीको प्रतिभाको चर्चा निकै चुलिएको थियो ।

देशका विभिन्न जिल्ला र विदेशमा समेत आफ्नो एक खुट्टाले नृत्य प्रस्तुत गरेर वाहवाही कमाउनुभएकी गुरुङको क्षमतालाई देखेर गुरुङ व्यूटी एकेडेमीका सञ्चालक एवं सौन्दर्यविद् चिनु गुरुङले आत्मनिर्भर बनाउने पहल थाले । गुरुङ भन्छन्, ‘एक कार्यक्रममा उनीको नृत्य देखे निकै सशक्त लाग्यो । सबैबाट तारिफ भयो । धेरैले टिप्स पनि दिए ।

नृत्यको कला त उहाँमा छँदै थियो, जुन मेला महोत्सवलगायतमा मात्रै प्रस्तुत गर्ने अवसर मिल्थ्यो, तर नियमित हुँदैनथ्यो । मैले नियमित आयआर्जन हुने सीप सिकाएर उनीलाई स्वावलम्बन बनाउने निःशुल्क पार्लर सिकाउने सोच बनाएँ’, उनले भने, ‘मैले अञ्जनालाई पार्लर सिक्न आग्रह गरे । उनी निकै खुशीका साथ तालिममा सहभागी भए ।

जसका कारण आज उनी पार्लरसम्बन्धी सम्पूर्ण काममा निपूर्ण हुनुहुन्छ भने उनीको विशेषज्ञता अहिले आइस्याडो बढी छ । यसका लागि थप एडभान्स तालिम सिकाउन विदेश पठाउने सोच पनि बनाइरहेको छु’, अहिले अञ्जनाले मासिक १० हजार तलब र अन्य थप सुविधा प्राप्त गरेको उनीको भनाइ छ ।

अञ्जना भन्छन्, ‘मलाई चिनु म्यामले आत्मनिर्भर हुने बाटो देखाइदिए, अब सौन्दर्य क्षेत्रमा आफ्नो कर्मलाई निरन्तरता दिन्छु । नृत्यबाट पनि टाढा हुँदिन । नियमित आम्दानीले खुशी थपेको छ । अब त मैले पनि परिवारलाई आर्थिक सहयोग गर्न सक्छु भन्ने आत्मविश्वास पनि पलाएको छ ।’

उनले समाजमा आफूजस्तै अन्य फरक क्षमता भएकाहरुलाई जिन्दगीमा निरास भएर होइन, आफूभित्रको क्षमतालाई पहिल्याएर अघि बढ्न आग्रह गरे । यसका लागि फरक क्षमता भएकाहरुप्रति सकारात्मक दृष्टिकोण राखेर अवसर प्रदान गर्नुपर्ने उनीको भनाइ छ । विचरा र बरा भन्नुभन्दा पनि उनीहरुको क्षमताअनुसारको अवसर प्रदान गरेर उनीहरुको आत्मबल बढाउनुपर्ने धारणा राखे।

एकेडेमीका प्रशिक्षक निरु बोहोरा क्षेत्री अञ्जनामा विशेष खुबी भएको बताउँछन् । अरुमा भन्दा छिटो सिक्न सक्ने र बढी मेहेनत गर्न बानी र अल्छी नगर्ने अञ्जनाको स्वाभावको आफू पनि प्रशंसक भएको उनीको भनाइ छ ।

अञ्जनाको कामप्रतिको लगाव र राम्रो फिनिसिङले पार्लरमा आउने ग्राहक निकै सन्तुष्ट भइरहेको र अर्कोपटक पनि पार्लर आउँदा उनीलाई खोज्ने गरेको क्षेत्री बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर