रंगशालाको झझल्को, मजदुरको चिन्ता
बिहिबार, चैत १३, २०७६ मा प्रकाशित

काठमाडौं, चैत १३ : केही समयदेखि धुर्मुसको दिनचर्या चितवनमा निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशालामा नै बित्दै आएको थियो । बिहानदेखि रातिसम्म उनी निर्माणस्थलमै खटिएका हुन्थे । एकाएक यसरी निस्क्रिय बस्दा उनलाई बेचैनी पनि भइरहेको छ ।

‘हामीले अस्ति शनिबारसम्म निर्माण कार्य जारी राखेका थियौं । निर्माणस्थल कोरनाबाट सुरक्षित राख्न विभिन्न सावधानीहरु अपनाएका थियौं । केही दिनदेखि बाहिरबाट आगन्तुकहरुलाई प्रवेश गराउन बन्द गरिएको थियो । तर, त्राश बढ्दै गयो र सरकारले पनि २५ जनाभन्दा बढि भेला नहुनु भन्यो । त्यसपछि काम रोक्ने निर्णय लिएका हौं,’ धर्मुसले भने ।

रंगशाला निर्माणस्थलमा ३ सय जनाभन्दा बढि कार्यरत थिए । निर्माणको काम युद्धस्तरमा अगाडि बढिरहेको थियो । प्याराफिटको जग खन्ने काम ९० प्रतिशत सकिएको थियो भने र पिल्लरको पिसीसी ढलान ७० प्रतिशत सम्पन्न भएर जाली बुन्ने काम धमाधम चलिरहेको थियो । अब पिल्लर उठाउने तयारी थियो । यो हप्ताबाट दोहोरो सिफ्टमा काम गर्ने निर्णय गरिएको थियो । तर, २ दिनपछि काम स्थगित भयो । आइतबार सबै कर्मचारी–मजदुरलाई बिदा गरेर उनी काठमाडौं फर्के ।

‘यहाँ आइसकेपछि रंगशालाकै झल्को आइरहेको छ । एक मनले सोच्दा त काठमाडौंभन्दा त्यहीँ सुरक्षित थियो । संक्रमणको डर त बरु यहाँ पो छ,’ उनी भन्छन् ।

धुर्मुसलाई लकडाउनमा ज्यालादारी मजदुरहरुको चिन्ता छ । दैनिक कमाएर खानुपर्नेहरुले यो लकडाउन अवधिमा कसरी गुजारा गर्लान् भन्ने प्रश्नले उनको मनमा डेरा जमाइरहेको छ । उनीहरुलाई कुनै न कुनै तवरबाट सरकारले संरक्षण दिनुपर्ने धुर्मुस बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर