नेपालका दुई अवे सिरिज स्थगित
बिहिबार, चैत १३, २०७६ मा प्रकाशित

काठमाडौ, चैत १३ : नेपाली राष्ट्रिय टोलीका दुई अवे सिरिज स्थगित भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जुन ३० सम्मलाई क्रिकेटका सबै प्रतियोगिता स्थगित गरेसँगै नेपालका दुई अवे सिरिज स्थगित भएका हुन् ।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अप्रिल २० देखि २७ तारिखसम्म नामिबियामा खेल्ने तय भएको थियो । उक्त त्रिकोणात्मक सिरिजमा आयोजक नामिबियासहित नेपाल र सक्टल्यान्ड रहेका थियो ।

त्यस्तै जुन ९ देखि १६ सम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने अर्को सिरिज पनि स्थगित भएको छ । यूएई टुरमा आयोजक टोलीसहित नेपाल र पपुवा न्युगिनी रहेका छन् । अब यी खेलको अर्को मिति आईसीसीले पछि निर्धारण गर्ने जनाएको छ ।

नेपालले पहिलो चरण अर्थात् त्रिकोणात्मक होम सिरिज फेब्रुअरीमा टीयू अन्तर्राष्ट्रिय मैदानमा ओमान र अमेरिकासँग खेलेको थियो । जहाँ नेपालले ओमानसँगका दुई खेल गुमाउँदा अमेरिकासँगका दुवै खेल जितेको थियो ।

सन् २०२३ विश्वकप छनोट प्रतियोगितामा पुग्ने सुनौलो अवसरका रूपमा हेरिएको यस लिग–२ प्रतियोगितामा ७ राष्ट्रले ३४ एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेल्ने गर्छन् । जसमा तालिकाको शीर्ष तीन टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर