काठमाडौँ, चैत २४ : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरेको आज चौधौँ (१४) दिन हो । लकडाउनको १४औँ दिन पुग्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको पनि दैनिकी बद्लिएको छ । उनको अहिलेको दैनिकी मन्त्रालयमा गएर त्यहाँका कर्मचारीसँग छलफल गर्ने मात्र नभएर कोभिड–१९ नियन्त्रणका लागि के गर्न सकिन्छ, त्यसमा स्वास्थ्यविज्ञसँग निरन्तर छलफलमा केन्द्रित हुने गरेको छ ।
बिहानदेखि रातिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर सरोकारवाला मन्त्री तथा चिकित्सक र स्वास्थ्यकर्मीसँग कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अपनाइने विभिन्न विषयमा नियमित संवादमा उनी हुन्छन् ।
मन्त्री ढकालले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ को नियन्त्रण तथा प्रतिकार्यका लागि बनेको संकट व्यवस्थापन समितिको सदस्यका रूपमा रहेका छन् । ती समितिको बैठकमा पनि उनले अनिवार्य सहभागी भएर कोभिड–१९ को न्यूनीरकण तथा नियन्त्रणका लागि सरकारले चाल्नु पर्ने कदमबारे छलफल गरेका छन् ।
विभागीय मन्त्री भएकाले पनि उनको जिम्मेवारी अहिले बढेकाले पनि उनी अहिले बढी खट्ने उनका स्वकीय सचिव भुवन खतिवडाले जानकारी दिए । ‘लकडाउन भएपछि उनको दैनिकी फेरिएको छ’, मन्त्री ढकालको भतिजा सौगात ढकालले भने, ‘बिहानदेखि साँझसम्म कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आयोजित बैठकमा व्यस्त हुनुहन्छ ।’
लकडाउनसँगै उनको दैनिकमा आएको परिवर्तनले उनको साँझको खाने र सुत्ने समय निश्चित छैन । बिहान भने सधैँ ८ बजे खाना खानुहुन्छ । ‘बिहानको खाना भने समयमा नै खानुहुन्छ । त्यसपछि दिउँसो खाजा र रातिको खानाको निश्चित हुदैन’, उनका भतिजा ढकालले भने, ‘मन्त्री निवास पुगेपछि सबैसँग फोन संवाद गर्दा उनको रातिको १२ बज्छ । त्यसपछि मात्र सुत्नुहुन्छ ।’
मन्त्री ढकालले अचेल साढे ८ देखि ९ बजेको बीचमा मन्त्रालय पुगिसक्छन् । बिहान मन्त्रालय पुगेपछि सचिव यादव कोइराला विभागी प्रमुख, आफ्ना सचिवालयका सदस्य र चिकित्सकसँगको छलफलमा एक छिन ब्रिफिङ सुनेर सिंहदरबारमा हुने महत्वपूर्ण बैठकमा सहभागी हुन्छन् ।
आकस्मिक बैठकबाहेक उनी मन्त्रालयमा नै रहन्छन् । मन्त्रालयमा बस्दा मन्त्रालयका उच्चपदस्थ कर्मचारी, चिकित्सक तथा सञ्चरकर्मीसँग व्यस्त हुनुपरेको स्वकीय सचिव खतिवडाले बताए ।
नेपालमा कोभिड–१९ को संक्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेकाले पनि मन्त्री ढकाललाई थप चुनौती थपिएको छ । विदेशबाट आएकाबाट केही दिनअघि एक जनामा संक्रमण (सोसल ट्रान्समिसन) भेटिएपछि उनले अब कसरी यसलाई रोक्न सकिन्छ भन्नेतर्फ गम्भीर भएर लागेकाे मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले बताए ।
उनले अहिले अरूबेला राजनीतिक पार्टीका नेता तथा कार्यकर्तालाई दिइने समय चिकित्सक र कोरोना नियन्त्रणमा दिएकाे उनको स्वकीय सचिव खतिवडाको भनाइ छ । ‘अहिले उनको कसैसँग पनि राजनीतिक कुरा हुँदैन’, उनले भने, ‘कसरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सकिन्छ भनेर मात्र उनको ध्यान केन्द्रित भएको छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर फोन संवाद र आवश्यक परे प्रधानमन्त्री निवास बालुवाटारमा समेत उनी जाने गरेका छन् ।
यसैगरी उनी अर्थ एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा, गृहमन्त्री रामवहादुर थापा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, उद्योग तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग पनि नियमित समन्वय र सम्पर्कमा हुन्छन् ।
दिनभरिको व्यस्ततापछि राति ९ बजेतिर मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गठन गरेका विभिन्न समितिका संयोजकसँग व्रिफिङ लिनुहुने भतिजा सौगात ढकालले बताए । वैदेशिक समन्वय, आपूर्ति व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन, सूचना व्यवस्थापन, कर्मचारी व्यवस्थापनका संयोजकसँग भएका दैनिक प्रगतिबारे उनले आफैँ फोन गरेर व्रिफिङ लिने गर्छन् ।
मन्त्री ढकालले मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइराला, मेडिकल सुपरिटेन्डेन्ट डा गुणराज लोहनीसँग पनि नियमित छलफल गर्छन् ।
यसैगरी आज पनि सोमबार लकडाउनका १४औ दिन उनी बिहान ९ बजे नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी भए । त्यो कार्यक्रम सकिएलगत्तै उनी शुक्रबार र आइतबार कोरोना हब अस्पतालका लागि तोकिएका छ वटा अस्पतालको अनुगमन प्रगतिका बारेमा विफ्रिङ लिनुभएको मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहाकार डा कार्की जानकारी दिए ।
त्यसपछि मन्त्री ढकालले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा १०:३० बजे सिंहदरबार पुगे । समितिको बैठक सकेर पुनःरक्षामन्त्रालयमा औषधिजन्य खरिदबारे रक्षामन्त्री पोखरेलसँग अर्को बैठकमा सहभागी भए । मन्त्री ढकालले त्यो बैठक सकेर पुनःप्रधानमन्त्री निवास बालुवाटारमा २ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा सहभागी भए ।