चाँगुनारायण , चैत २९ : यहाँ कुखुराका चल्लाको थोक व्यापार-व्यवसाय गर्दै आएकी चञ्चला हुमागाईं लकडाउनपछि दानाको अभावप्रति सङ्केत गर्दै भनीन, “खाल्डो खनेर पुरिए ऋणमा डुबिन्छ, दाना खुवाउन सकिएन भने कुखुराले–कुखुरा नै खाएर खोर रित्तिन्छ।”
बालाजु र थिमिबाट जेनतेनरूपमा दाना ल्याएर आजसम्म खुवाउँदै आएकी व्यवसायी हुमागाईंको खोरमा अहिले करिब २५ हजार चल्ला छन्। “चल्ला बिक्री ठयाप्पै छ, दाना खुवाएर अड्याउन सकिए खुलेपछि बिक्री होला भन्ने आसमा छौँ, तर यो अवस्था कायमै रहे हाम्रो केही उपाय छैन, चल्ला मर्छन्, हामी डुब्छौँ”, उनले भनीन। नौ रोपनी जग्गा भाडामा लिएर कुखुराफार्म सञ्चालन गर्दै आएकी हुमगाईंको उक्त फार्ममा ३५ लाख लगानी भएको छ।
उक्त फार्ममा एक दिनका लागि ५० बोरा आवश्यक पर्ने भए पनि दानाको अभावमा चल्लाको सास अड्याउने मात्र काम भएको बताउँदै हुमागाईंले भनीन, “दाना दिन नसकेपछि चल्लाले चल्ला खान्छ, त्यो हेर्नेभन्दा अरु उपाय केही रहन्न।” कोरोनाका कारण व्यवसायबाट १० वर्षमा पनि उक्सन कठिन हुने उनको आँङ्कलन छ। एकदिने चल्लालाई प्रतिगोटा ६० देखि ६५ मा खरिद गरी ल्याएर एक्काइस दिनभित्रमा बेचिसक्ने उक्त फार्मका चल्ला दोलखा, ओखलढुङ्गा, रामेछापदेखि सोलुखुम्बुसम्म जान्थे।
तर अहिले बिक्री ठप्प भएका कारण पाँच हप्तासम्मका चल्ला खोरमै छन्। उद्योगले दान उधारोमा दिएन, चल्ला बिकेको छैन, हातमा पैसा छैन, साथीभाइको ऋण पनि धेरै भइसक्यो, उनले भनीन्।
माउ कुखुरा धमाधम घटाइँदै
रोल्पा स्थायी घर भई यहाँ व्यावसायिकरूपमा लेस कुखुरापालन गर्दै आएका तेजेन्द्र खत्री पनि दानाको अभाव भएपछि खोरमा रहेका कुखुराको सङ्ख्या धमाधम घटाउँदैछन्। उनल भने, “दाना ‘सटेज’ भएपछि खोरमा आधा मात्र कुखुरा राख्ने विचारमा छु। ३० बोरा दाना मगाउँदा १० बोरा मात्र ल्याइदिन्छ, दाना नभएका कारण सङ्ख्या घटाए पनि पेशा भने परिवर्तन गर्नेमा म छैन।”
अहिलेसम्म दाना खुवाएको र भ्याक्सिन दिएको हिसाबले प्रतिगोटा ६०० लागत रहेकामा घाटा खाएर भए पनि रु ३५० प्रतिगोटा बिक्री गर्दै आएको खत्रीको भनाइ छ। श्रीमान् श्रीमतीका अतिरिक्त दुई जनालाई उनले फार्ममा रोजगारी दिएका छन्। अरु व्यवसायको तुलनामा काम सजिलो छ, लकडाउनले केही समस्या आए पनि व्यवसायप्रति खत्री सन्तुष्टि व्यक्त गर्छन्।
बोडेस्थित न्यूपञ्चकन्या सप्लायर्सका सञ्चालक बाबुराम थापाले भन्नुभयो, “लकडाउनका कारण धेरै मान्छे गाउँ गएकाले मासुको खपत कम भएको छ, तैपनि अघिपछिको तुलनामा एकतिहाइ मासु बिक्री हुँदै आएको छ। उक्त सप्लायर्सबाट थोक रु २५० र खुद्रा प्रतिकिलो रु २७० मा मासु बिक्री हुँदै आएको छ।
पेशाप्रति गौरव छ : पुष्प व्यवसायी
सिन्धुलीे दुधौलीका ज्ञानबहादुर खड्काले भने, “लकडाउनका कारण पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था छैन, पुष्प व्यवसाय भनेको धैर्यता हुनेले गर्ने पेशा हो, यसमा मलाई गौरव छ।”
कोरोनाको सन्त्रासका कारण धेरै होटल बन्द रहेको तथा अरु औपचारिक कार्यक्रम नभएपछि पुष्प व्यवसायलाई केही समस्या परे पनि बिहान बेलुका धेरथोर बिक्री भइरहेको उनको भनाइ थियो। फूल बिक्रीको मौसम नभएकाले पुष्प व्यवसायीलाई त्यति ठूलो असर भने परेको देखिन्न। फूलको नर्सरी बनाउन उहाँले रु १० लाख रकम खर्च गर्नुभएकोमा वार्षिकरुपमा रु २० लाख बराबरको कारोवार हुँदै आएको छ।
उनको तरकारी र पुष्प फार्ममा लकडाउन भए पनि १० जनाले निरन्तर रोजगारी पाइरहेका छन्। थापाले भने, “सङ्कटका बेला धैर्य गुमाउनुहुन्न, कोभिड–१९ विश्वकै समस्याका रुपमा देखिएको छ, यो बेला आत्मबल बढाएर जोखिमबाट जोगिएर काम गर्नुपर्छ।”