पुरस्कार रकमले यस्तो योजना बनाउँदैन खेलाडी ?
शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित

काठमाडाैं, वैशाख ५ : पुरस्कारमा मोटो रकम पाएपछि खेलाडीहरुले त्यसको उपयोगमा विभिन्न योजना पनि बनाएका छन् । कसैले बचत गर्ने योजना बनाएका छन् भने कसैले व्यवसाय गर्ने ।

तेक्वान्दोमा स्वर्ण जितेकी तेक्वान्दो खेलाडी काजल श्रेष्ठले पुरस्कारको रकमले घरको ऋण तिर्ने बताएकी छन् । ‘अब घरको ऋण तिर्नेछु अनि बाँकी रकम सेभिङ गर्नेछु’ उनले भनिन् ।

बक्सिङमा स्वर्ण जितेका सनिल शाही भने मोटरसाइकल किन्ने योजना बनाएका छन् । कोरोनाको त्रास सकिएपछि एउटा मोटरसाइकल किन्ने र बाँकी रकम वचत गर्ने उनको योजना छ ।

यस्तै उसुमा रजत जितेकी मीना ग्लान पुरस्कारको रकमले व्यवसाय गर्ने सोचाइमा छिन् । ‘६ लाख पाएँ अब व्यवसाय गर्ने योजना छ, खेलकुदमा मात्रै लागेर लाइफ सेक्युर नहुने देखेर अन्य काम गर्ने तयारी गरेको हो ।’ उनले काठमाडौंमा टर्की फार्म खोल्ने योजना बनाएकी छन् । ‘त्यसमै रिसर्च गरिरहेको छु, अलि (धेरै) रकम जम्मा गरेर खोल्ने हो’ मीनाले भनिन् ।

पुरुष फुटबलमा नेपाल यू – २३ टिममलाई स्वर्ण जिताउँदाका कप्तान सुजल श्रेष्ठले तत्कालै केही योजना बनाएका छैनन् । त्यसैले कोरोना त्रासको अवधिभर उक्त रकम वचत गरिराख्ने उनी बताउँछन् ।

महिला फुटबलमा रजत जितेकी सावित्रा भण्डारी साम्बाले पनि पुरस्कार रकम के गर्ने भन्ने योजना बनाएकी छैनन् । सागका स्वर्ण जितेर ९ लाख रुपैयाँ पाएका कराँतेका नवीन रसाइलीले पनि पुरस्कारको रकम के गर्ने योजना बनाएका छैनन् । ‘पैसा के गर्ने सोचेको छैन तर जे गरेपनि राम्रो काममा सदुपयोग गर्नेछु’ उनले भने ।

पहिलो पटक नेपाललाई कुस्तीमा स्वर्ण जिताउन सफल संगीता धामी लकडाउन सकिएपछि पुरस्कार रकम खर्च गर्ने योजनामा छिन् । ‘के गर्ने भनेर सोध्छु ममीले के भन्नुहुन्छ त्यसैमा खर्च गर्ने हो’ उनले भनिन् ।

एथ्लेटिक्समा स्वर्ण जितेका गोपीचन्द्र पार्कीले भविष्यको योजनाको लागि यो रकम सदुपयोग गर्ने बताए । ‘काठमाडौंमा जग्गा किन्ने योजना छ । त्यसैको लागि सेभिङ गर्नेछु’ उनले भने ।

करातेमा २ स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठले अब सही ठाउँमा उपयोग गर्ने बताए । गल्फमा दुई स्वर्ण जितेर २२ लाख पाएका सुवास तामाङले अब पुरस्कार रकम घर बनाउन र परिवारमा खर्च गर्ने बताए ।

ब्याडमिन्टमा कास्य जितेका दिपेश धामीले पुरस्कारको रकम आमाको लागि खर्च गर्ने बताए । तेक्वान्दो खेलाडी सञ्जीवकुमार ओझा, कराँतेकी अनु अधिकारीलगायत कतिपय खेलाडीले पुरस्कार के गर्ने योजना बनाउन भ्याएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर