काठमाडाैं, वैशाख ८ : पाटन मानसिक अस्पतालको पुरुष वार्डको बेड नं. ३ मा केही दिनयता ३७ वर्षीय एक भारतीय उपचाररत छन् । कोरोनासम्बन्धी लक्षण देखिएर उनी अस्पताल भर्ना भएका भने होइनन्, तर उनको अस्पताल यात्रा कोरोनासँगै जोडिएको छ । कोलकात्ता घर भएका उनी नेपाल बस्न थालेको किशोरावस्थादेखि नै हो ।
श्रीमती आसिकाका अनुसार उनले यहीँ नै विभिन्न काम गरे । दुई वर्ष भयो दुवैले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको । परिवारमा २७ वर्षीया आसिका र एक वर्षकी छोरी छिन् । उनकी आमा भारतमै छिन् भने एक भाइ पोखरामा काम गर्छन् ।
अस्पतालको ढोकामा हामी पुग्दा लिन आएकी आसिकालाई बेडमा पुग्नेबित्तिकै श्रीमान्ले बेस्सरी झपारे । ‘किन र कसलाई सोधेर बाहिर गइस् ? यतिका बेर बाहिर बस्ने हो ? कोसँग भेटेर आइस् ?’ जस्ता अनेकन प्रश्न तेस्र्याई आसिकाको सातो लिए । बेस्सरी गाली गर्दा पनि उनी रिसाइनन्, मात्रै मुस्कुराइरहिन् ।
उपचारमा संलग्न पाटन मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट अनन्तप्रसाद अधिकारीका अनुसार उनमा ‘साइकोसिस’ देखिएको छ । सामान्य मानिसले नदेख्ने, नसुन्ने विषय यस्तो समस्या भएकाले देख्ने र सुनिरहने हुन्छ । यस्तो भ्रम सिर्जना हुँदा कतिपय अवस्थामा बिरामीले आफ्नो बचाउका लागि अगाडिका व्यक्तिलाई आक्रमण गर्ने चिकित्सक बताउँछन् । ‘कोरोना भाइरस फैलिएदेखि उनी कोरोनाबारे निकै त्रसित रहेछन् । धेरै सोच्ने, डराउने गर्दा रहेछन्,’ साइक्याट्रिस्ट अधिकारीले भने ।
श्रीमती आसिकाका अनुसार यस्तै समस्या उनमा झन्डै १७–१८ वर्षअघि पनि देखिएको थियो । भारतमा उपचारपछि उनी ठीक हुँदै थिए । अहिले फेरि उपचारका लागि अस्पताल ल्याइएका छन् । यहाँ ल्याएपछि उनमा धेरै परिवर्तन आएको र बिस्तारै निको हुँदै गएको अस्पतालका चिकित्सकको भनाइ छ । ‘उनी पहिलेभन्दा कम हिंस्रक भएका छन् र वेलैमा ल्याएकाले उपचार समयमै सुरु हुन सकेको छ ।
६० प्रतिशतजति निको भइसक्यो,’ अधिकारीले भने । अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट अधिकारी कोरोना भाइरसको संक्रमण र लकडाउन सकिएपछि धेरैजना मानसिक रोगी थपिने सम्भावना रहेको बताउँछन् । ‘यो केही हदसम्म भूकम्पपछिको अवस्थाझैँ हुनेछ । अहिले कोभिड त्रासले धेरैलाई मानसिक समस्या निम्त्याएको छ । तर, गाडी तथा सवारीसाधन चल्न नसक्दा अस्पताल आउन सकेका छैनन्,’ उनले भने ।
काम छुटेपछि हिंस्रक व्यवहार देखाएकाले अस्पताल भर्ना
काम छुटेपछि श्रीमान् निकै तनावमा रहेको आसिकाले बताइन् । कोरोना फैलिएसँगै उनी निकै डराएको र व्यवहार पनि फरक–फरक देखाउन थालेका छन् । पछिल्लो एक सातादेखि श्रीमान्को व्यवहारले डर लागेपछि उनले अस्पताल भर्ना गरेकी हुन् । आसिकाका श्रीमान् मार्बल र टायल बिछ्याउने काम गर्थे । गल्कोपाखा बस्दै आएका उनीहरूको लकडाउन सुरु भएदेखि आर्थिक अवस्था डगमगायो ।
खानेकुरा जुटाउन गाह्रो पर्न थालेपछि परिवारमा तनाव बढ्दै गएको थियो । लकडाउन थपिएसँगैको बेरोजगारी र कोरोनाको त्रासले मानसिक रूपमा समेत उनीहरूलाई कमजोर बनाएको छ । बिस्तारै उनका श्रीमान्ले कुट्ने, अनावश्यक गाली गर्न थाले ।
समस्या बढ्दै गएपछि उनी र आफू बसेको घरमा बस्ने अन्य भारतीय नागरिकको सहयोगमा नजिकैको किराना पसलको गाडीमा राखेर ललितपुरस्थित एक निजी मानसिक अस्पतालमा पुर्याइन् । पाटन मानसिक अस्पतालमा आकस्मिक बेड खाली नभएकाले र कुरुवा बस्न नपर्ने भएकाले चर्को शुल्क तिर्नुपरे पनि उनी त्यहाँ पुगेकी थिइन् ।
‘त्यहाँ धेरै पैसा पर्ने भएपछि फेरि शुक्रबार घरबेटीको गाडीमा पाटन मानसिक अस्पतालको सामान्य वार्डमै ल्याएर भर्ना गराएँ,’ आसिकाले भनिन्, ‘एक हप्तादेखि बाहिरै बस्ने खाने भइरहेको छ । चार हजार रुपैयाँजति खर्च भइसक्यो । मजदुर परिवारका लागि यो रकम ठूलै हो । उहाँका साथी र सँगै कोठामा बस्नेहरूले पैसा उठाएर सहयोग गरेका छन् ।’ अस्पतालले औषधि उपचार निःशुल्क गरिरहेको छ ।
बिरामीको खाना र खाजा पनि अस्पतालले व्यहोरेको छ । अस्पतालको बेड शुल्क दैनिक ५० रुपैयाँ छ । उनी आफैँ चाहिँ खाना र खाजा बाहिरै खान्छिन् । राति काखेछोरी च्यापेर क्याबिनतिर सुत्छिन् । वडाबाट राहत लिन न उनीसँग नेपालको नागरिकता छ, न त भारतकै ‘भोटर आइडी कार्ड’ वा दूतावासले दिने ‘रजिस्ट्रेसन कार्ड ।’ विवाह दर्ता पनि भारत गएपछि मात्र बन्छ, तर उनी अहिलेसम्म गएकी छैनन् ।
लकडाउनपछि बेरोजगार, राहत नपाएको गुनासो
आसिका र उनका श्रीमान् बस्ने भवनमै बस्छन् झन्डै एक सय भारतीय मजदुर । सबै मार्बल बिछ्याउने काम गर्छन् । लकडाउन सुरु भएदेखि सबै बेरोजगार छन् । त्यहाँ भएका केही भर्खरै नेपाल आएका हुन् भने केहीले नेपालमै काम गर्न थालेको दुई दशक नाघिसकेको छ । नेपालमा बसी व्यापार गर्नेलाई लकडाउनले खासै गाह्रो नभए पनि ज्याला मजदुरी गर्नेलाई दिन काट्न कठिन भइरहेको छ । वडामा राहत लिन सकिरहेका छैनन् भने दूतावासबाट पनि केही सहयोग नभएको उनीहरूको गुनासो छ ।
सके आफ्नै देश फर्किन चाहने उनीहरू बताउँछन् । ‘हामी यहाँ बसेको १० वर्ष भयो । त्यसैले वरपरका पसलेले चिन्छन् र खाद्यान्न उधारोमा लिइरहेका छौँ,’ पश्चिम बंगाल घर भई गल्कोपाखामा अर्का भारतीय साथीसँग बस्ने २६ वर्षीय सब्दिर आलमले भने, ‘६ हजार रुपैयाँका सामान ल्याइसक्यौँ । अब कहिले लकडाउन खुल्छ र कमाएर तिर्ने हो भन्नेबाहेक विकल्प छैन ।’
कतिपय हिँडेरै नेपाली सीमाबाट लुकिछिपी भारत पस्ने गरेका छन् । सुरुमा केही भारत छिरे पनि अहिले पूरै रोकिएको छ । सीमामा रोकिएका करिब एक हजार भारतीयलाई नेपाल सरकारले नै क्वारेन्टाइनमा राखेको छ ।
लकडाउनमा पनि घर जान खोज्दा १७ चैतमा दुईजना भारतीय युवाले ज्यान गुमाएका थिए । भारत मोतिहारी घर भई चापागाउँमा कबाडीको काम गर्दै आएका २१ वर्षीय मुकेशकुमार गुप्ता र २७ वर्षीय सन्तोष महतो घर जान खोज्दा उनीहरू सवार साइकल ललितपुरको बागमती गाउँपालिकास्थित झाँक्रीडाँडाबाट तीन सय मिटर तल खसेको थियो । घटनास्थलमै उनीहरूको मृत्यु भयो ।
प्रहरीले मृतकका बाबु सुरेशकुमार गुप्तालाई शव जिम्मा लगाएको थियो । सुरेशका अनुसार उनीहरू कान्ति लोकपथबाट रौतहट हुँदै भारतस्थित घर जान लागेका थिए ।
नेपाल र भारतमा खुला सिमानाका कारणले धेरै नेपाली र भारतीय एक–अर्काको देशमा काम गरिरहेका छन् । तर, दुवैतिर यसको यकिन तथ्यांक छैन । दुवै देशले आ–आफ्ना नागरिकलाई लकडाउन घोषणा भएपछि जहाँको त्यहीँ बस्न आग्रह गरेका छन् ।
तर, दैनिक छाक टार्न काम गर्नुपर्ने वर्गलाई भने बहाल र खाना खर्च थेग्न गाह्रो भइरहेको छ । नजिकको किराना पसलबाट उधारोमै खाद्यान्न ल्याइरहेका छन्, भारत बिहार पुपरी घर भएका रघुनाथ चौधरी । काठमाडौंमा १५ वर्षदेखि पान पसल चलाएर बसेका उनी घर बहाल कसरी तिर्ने भन्ने चिन्तामा छन् ।
केही दिनअघि भारतीय दूतावासले फोनमार्फत गुनासा टिपाएका आफ्ना नागरिकलाई गाडीमा राहत ल्याएर वितरण गर्यो । उनले साथीमार्फत राहत दिने कुरा थाहा पाएका थिए । दूतावासले पाँच किलो चामल, दुई किलो आलु, दाल, तेल र साबुन दिएको उनले बताए । तीनजनाको परिवारका लागि त्यो राहत अब सकिएर उनको भान्सा रित्तिने वेला भइसकेको छ । कालिमाटी, ठमेल, गल्कोपाखा, कुपन्डोल, चन्द्रागिरी नगरपालिकाजस्ता स्थानमा धेरै भारतीय कार्यरत छन् । नयाँपत्रिका