रोकियो यार्सा सङ्कलन
बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित

डोल्पा, वैशाख १० : अहिलेको विषम परिस्थितिमा निर्वाधरूपमा यार्सागुम्बा सङ्कलन गर्न दिनु घातक हुनसक्ने भन्दै हिमाली जिल्ला डोल्पामा पहिलोपटक बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन रोकिएको छ । विश्भर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध पूर्व सतर्कता अपनाउनका लागि सङ्कलनमा रोक लगाइएको हो ।

मङ्गलबार सदरमुकाम दुनैमा बसेको जिल्ला विपत् व्यवस्थापन समितिले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

देश लकडाउनमा रहेको अवस्थामा हजारौँ मान्छे भित्र्याएर फुकुवा गर्न नसकिने बताउँदै समयमै जिल्लाका मुख्य नाका बन्द गरिने समेत प्रजिअ सुनारले बताए । अवस्था खुकुलो हुँदै गएमा पछि त्यहीअनुसार निर्णय हुने उनले बताए ।

जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले डोल्पावासीको आर्थिक उपार्जनको मुख्य स्रोत नै यार्सागुम्बा भएकाले आगामी २० गतेभित्र पुनः एक पटक जिल्लाका सरोकारवाला निकायसँग छलफल गरेर खुल्ने–नखुल्ने टुङ्गो लगाउने बताए । डोल्पाली जनता वर्षौँदेखि यार्सागुम्बामै निर्भर भएकाले एकपटक सोच्नैपर्छ प्रमुख बुढाले भने ।

यसबारे शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले आधिकारिक धारणा भने सार्वजानिक गरेको छैन । समितिको बैठकमा उपस्थित स्थानीय निकायका प्रमुख एवं प्रतिनिधिमध्ये केहीले यार्सा सङ्कलन रोक्नुपर्ने र केहीले रोक्न नहुने धारण राखेका थिए । प्रत्येक वर्ष निकुञ्ज र सामुदायिक वनमा यार्सागुम्बा सङ्कलन गरिँदै आएको छ ।

नेपालमै बहुमूल्य जडीबुटीको यार्सागुम्बाको उर्वरभूमिको रुपमा चिनिने डोल्पामा विगत २० वर्षदेखि व्यावसायिकरूपमा यार्सागुम्बा सङ्कलन हुँदै आएको छ । अघिल्लो वर्षमा छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यानलगायतका जिल्लाबाट दशौँ हजार सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि डोल्पा आउने गर्थे । यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णयसँगै अवैध चोरी निकासी बढ्ने भन्दै उच्च सुरक्षा सतर्कता अपनाउनुपर्ने सरोकारवाला निकायको भनाइ छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय