बलेवा, वैशाख १२ : कोरोना सङ्क्रमण पुष्टि भएपछि ६५ वर्षीया मनकुमारी पौडेल १७ दिन बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा बसेर उपचार गराइन् ।
चैत २० गते भएको थ्रोट स्वाब परीक्षणमा कोरोनाको सङ्क्रमण पुष्टि भएर अस्पताल पुगेकी मनकुमारीको वैशाख ६ गते पछिल्लो रिर्पोटसमेत नेगेटिभ देखिए पछि उनि घर फकिइन् । चैतको १५ गते अस्पतालको आइसोलेसनमा पुगेकी बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको पनि स्वास्थ्यमा कुनै समस्या छैन । उनको थ्रोट स्वाबको परीक्षण भइरहेको छ ।
बुधबार मात्रै सङ्कलन गरिएको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पुगेको छ । अब उनको रिर्पोट पनि नेगेटिभ आउनेमा चिकित्सकहरु आशावादी छन् । उनिसँगै कतारको बाटोहुँदै नेपाल आएका काठमाडौं, कैलाली र बागलुङकै सङ्क्रमितसमेत निकोभएर घर फर्किएकाले उनिपनि पनि निको हुने चिकित्सकहरु अनुमान लगाउँछन् । बिरामीको स्वास्थ्यमा भैरहेको सुधार र कोरोनाकै कारण अस्पतालको भौतिक विकास तथा सरोकारवालाको चासोले यतिबेला धौलागिरी अञ्चल अस्पतालका चिकित्सकहरु पुल्कित छन् ।
तीन साता पहिला कोरोना सङ्क्रमण भएकाका बिरामी आउँदा अस्पतालका चिकित्सक नै भाग्ने अवस्था थियो । नत गतिलो मास्क नत बिरामीको नजिक जाँदा लगाउनुपर्ने पिपिई नै । एकदुई थान पिपिईको सहायतामा धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना भएका बिरामीको उपचारमा चिकित्सकहरु लागे, जुन काम चुनौतीपूर्ण थियो । काम चल्दै गयो, सामग्री आउँदै गए ।
अहिले गण्डकी प्रदेशमै कोरोनाका बिरामीको सफल उपचार गराउने अस्पतालको रुपमा धौलागिरी अञ्चल अस्पतालले परिचय बनाएको छ । कोरोनाका बिरामीको उपचारमा सिमित स्रोतसाधनबीच अस्पतालका चिकित्सक र व्यवस्थापनको मेहेनतका कारण अहिले सबैको आँखा पर्न थालेको छ ।
पहिलो सङ्क्रमित आउनुभन्दा पाँच दिनपछि अस्पतालमा केही स्वास्थ्य सुरक्षा सामग्री थपिएका थिए तर ठूलो परिवर्तननै देखिने गरी केही भएको थिएन । “बिस्तारै केन्द्र र प्रदेशको आँखा पर्यो अहिले सुरक्षा सामग्रीको समस्या छैन”, अस्पताल व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले भने, “पर्याप्त नभए पनि काम चल्नेगरी सामग्री आएका छन् ।”
दोस्रो सङ्क्रमित देखापरेपछि प्रदेश र केन्द्र सरकारले समेत आँखा अस्पतालमा पुर्यायो । फलतः यहाँ भेण्टिलेटर आए, पिपिई, मास्क र अरु स्वास्थ्य सामग्री पनि । लामो समय कसरत गर्दा निर्माण हुन नसकेको सघन उपचार कक्षसमेत बन्यो । स्टार्फ नर्सले तालिम प्राप्त गरेपछि यो पनि सञ्चालनमा आउने शर्मा बताउँछन् ।
अस्पतालमा उपचार र सुधारका काममा आएको गतिलाई स्वास्थ्य मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालयले अनुगमन गरिरहेका छन् । “यस बीचमा प्रदेश र केन्द्रबाट पनि सरहरु आईरहेका छन्”, बुधबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँग भेटवार्ता गरिरहेका निमित्त मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र बिक पोखरेलले भने, “पहिलेभन्दा अहिले केही सहज भएको छ ।”
उनीहरु अस्पताल परिसरमा डुलिरहेकै बेला कोरोना परीक्षणको लागि अस्पतालको गेट नजिकै बनेको बुथबाट र्यापिड डाईनोष्टिक टेष्ट भैरहेको थियो । कोरियन प्रविधिबाट बनाईको बुथ अन्य ठाउँका लागि नमूना बन्न सक्थ्यो ।
बुधबारनै पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीसहित समूहले अस्पतालको व्यवस्थापन र खटनपटनको विषयमा अवलोकन गरेको छ । “यहाँ कसरी व्यवस्थापन भैरहेको रहेछ भनेर हेर्न आएका हौँ”, पहाडीले भने, “उपचार गराईरहेकी बहिनीसँग पनि कुराकानी गराए, अवस्था सुध्रिएछ ।” उनले साविकको धौलागिरीका तीन जिल्लाले समन्वयात्मक तवरले काम गर्नुपर्ने बताएका छन् ।
“नयाँ रोग, नयाँ अनुभव कठिन परिस्थितीसँग जुधेर काम गरियो”, अस्पतालका डा. प्रदीप श्रेष्ठ भने, “कोरोनाको सङ्क्रमण यहीँ देखिनु दुःखद् हुँदाहुँदै पनि हामीले सिक्ने अवसर पनि त पायौँ ।” अस्पतालको आइसोलेसनमा अहिले बागलुङ नगरपालिका–४ की १९ वर्षीय युवतीको उपचार भैरहेको छ । चौथोपटक पठाईएको थ्रोट स्वाबको नतिजासमेत पोजेटिभ आएपछि पाँचौँ पटक स्वाब परीक्षणका लागि पठाईएको छ ।
“अब यी बिहिनीको पनि नेगेटिभ रिर्पोट आउनेमा आशावादी छौँ”, मेसु पोखरेलले भनिन्, “लक्षण केही छैन, स्वास्थ्य पूर्णरुपले सामान्य छ ।” बिहिबारसम्म उनको नतिजा आउने पोखरेलले बताए । बिरामीमा आएको सुधार र अस्पतामा भैरहेको सुधार दुवैले उत्साहित बनाएको चिकित्सकहरु बताउँछन् । रासस