लण्डन, वैशाख १५ : लण्डनको उत्तरपूर्वमा पर्ने वाल्थाम्स्टोको एउटा फ्ल्याटमा सोफामा आफ्नो कुकुर पिंगुसँग बस्दै क्रिस उडहेड आफ्नो शरीरमा ट्याटु खोप्ने ठाउँ खोज्दै छन्। उनको शरीरभर ट्याटुले भरिएको छ।
औँलाको टुप्पोदेखि पाइतालासम्म उनको शरीरमा ट्याटुको इङ्क नलागेको ठाउँ बाँकी छैन। प्रत्येक इन्च कुनै न कुनै शैलीको ट्याटुले ढाकेको छ। दायाँ खुट्टामा पासा, दायाँ जाँघमा बिच्छी, ताडको रूख, तरबारजस्तो चुच्चो भएको माछा लभको प्रतीकमा र पुतली आदि शरीरभर खोपिएको छ।
उनी झण्डै १५ वर्षअघि १८ को उमेर पुगेयता निरन्तर ट्याटु खोपिरहेका छन्। उनी अमेरिकी पङ्क सङ्गीत मन पराउँछन् र पछि डङ्कन एक्सको फ्यान भए। ब्रिटेनमा डङ्कन एक्सले गाढा कालो मसी प्रयोग गरी समसामयिक कलालाई लोकप्रिय बनाएको थियो।
उनले १९ वर्षको उमेरमा डङ्कन एक्सको ट्याटु खोपेका थिए। त्यसयता उनको नजिकको साथीले उनको शरीरभर ४०० भन्दा बढीपटक ट्याटु खोपिसकेका छन्।
लकडाउनको सुरुमा क्रिसको शरीरमा १००० जत्ति ट्याटु डिजाइन थियो। अब यसमा ४० वटा थपिएको छ र थपिने क्रम जारी छ।
पूर्वी लण्डनको एक स्टुडियोमा उनी ट्याटु आर्टिस्टका रूपमा काम गर्छन् तर अहिले यो बन्द छ। उनी त्यसपछि आफ्नी गर्भवती श्रीमती इमासँग घरमै बसिरहेका छन्। लकडाउनसँगै उनी प्रत्येक दिन आफ्नो शरीरमा नयाँ ट्याटु खोप्दै छन् र यो अन्त्य नभएसम्म गर्ने योजनामा छन्।
सुरुमा के गर्ने, के खाने भन्नेजस्तो अलमलमा दिन बितेकोले उनले आफ्नो रुचिकै काम ट्याटु खोप्ने सुरु गरेको बताउँछन्। प्रत्येक दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म उनी समसामयिक ट्याटु कला कोर्छन् अनि चिया खाएर त्यसलाई आफ्नै शरीरमा उतार्छन्।
ट्याटु कोर्नु आफ्नो लागि उपचारात्मक आनन्द दिने उनी बताउँछन्। यस्तो महामारीका बेलामा आफ्नो मनमा जे छ, त्यही कोर्दा मन शान्त हुने उनको अनुभव छ।
आफ्नो बायाँ खुट्टाको पाइतालामा उनले लेखेका छन्, ‘ह्वेन विल इट इन्ड?’ (यो कहिले सकिन्छ?) दायाँ खुट्टाको तलपट्टि कोरोनाभाइरसको चित्र छ। गर्दनको मुनि क्रिसले राष्ट्रिय स्वास्थ्य सेवालाई सम्मानका साथ चित्र बनाएका छन्।
महामारीको समयमा खटिएका स्वास्थ्यकर्मीहरूप्रति उनको सम्मान थियो यो। नेटफ्लिक्सको एउटा डोकुमेन्ट्री-शृङ्खला सकेको लकडाउनको १२ औँ दिनमा उनले बाघको चित्र कोरेका छन्।
त्यसको एक सातापछि आफ्नो भतिजा जन्मेको खुशीयालीमा उनले जापानी पुतलीको झल्को दिने एक बच्चाको ट्याटु खोपे। २३ औँ दिनमा उनले आफ्नो बच्चा पाउन लागेको सम्झनामा अर्को चित्र खोपे।
उनी सजिलोसँग हातले खोप्न मिल्ने खालको ट्याटु प्रविधि प्रयोग गर्छन्। बिजुलीको प्रयोग बिना नै हातको सुईले उनी मसी शरीरको भित्रसम्म खोप्छन्। यो प्रविधिमा ट्याटु गनले भन्दा कम दुखाइ हुनाले यसले लोकप्रियता पाइरहेको उनी बताउँछन्।
यसमा प्रत्येक विन्दुले चित्रको रूप फरक पार्ने भएकोले होसियार हुनुपर्छ र ट्याटु गनभन्दा यसमा बढी समय पनि लाग्छ।
उनी अझै आफ्नो शरीरमा केही खालि ठाउँ राख्न चाहन्छन्-आफ्नो बच्चाको नाम खोप्नका लागि। उनी त्यसकै लागि शरीरमा कति ठाउँ बाँकी छ भनी गणना पनि गर्छन्, तर साँच्चिकै उनको शरीरमा धेरै ठाउँ बाँकी छैन। शायद अब एक महिनामा उनको शरीरमा ट्याटु खोप्ने कुनै ठाउँ नै बाँकी नहुने उनी अनुमान गर्छन्। बिबिसी