गाउँगाउँमा नाङ्ला बेच्दै महिला
शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित

लम्की, वैशाख १९ : दैनिकी कष्टकर भएपछि जानकी गाउँपालिका मुनुवाकाका महिला यतिखेर नाङ्लो (सुप्पा) बेच्न गाउँगाउँ धाउन थालेका छन् । यो सिजनमा नाङ्ला बढी बिक्री हुन्थ्यो । लकडाउनका कारण नाङ्ला बिक्री नहुँदा महिला गाउँगाउँ धाउन थालेका हुन् । नाङ्ला बेचेर रोजीरोटी चलाउने महिलाहरु लकडाउनपछि जीविकामा समस्या भएको बताउँछन् ।

“मसँग ५० नाङ्ला तयारी अवस्थामा छन् । यो वर्ष बिक्रीमा गिरावट आएकाले गाउँगाउँ बेच्न जान थालेकी हुँ”, मुनुवाकी ढुल्ली भूलले भनिन्, “विगतका वर्ष यो सिजनमा सयभन्दा बढी सुप्पा बिक्री गरिन्थ्यो । धेरै नागरिक घरमै किन्न आउँथे । लकडाउनका कारण बिक्री हुन पाएन ।”

निर्माण गरिएका सुप्पा बिक्री नभएपछि महिला गाउँगाउँ बिक्री गर्न हिँडेका छन् । नागरिकलाई अन्न केलाउन सुप्पा अनिवार्य चाहिन्छ । बजारमा प्लाष्टिकको सुप्पा पाइन्छ । त्यो टिकाउ हुँदैन । उनीहरु आफूहरुले बनाएको सुप्पा १० वर्ष टिकाउ हुने बताउँछन् । “रु २०० ठाना बाँस किन्नुपर्छ, बाँसको छाला (पाता) छुटाएर कम्तीमा दुई दिन सुकाउनुपर्छ, त्यसपछि एउटै साइजको चोया बनाएर बुन्नुपर्छ”, ढुल्लीले भनिन्, “यसरी तयार भएको चोयाले दैनिक दुई वटा सुप्पा बुन्न सकिन्छ ।”

ढुल्लीले यही पेशाले १० जनाको परिवार पालेकी छन् । “म एकल महिला हो । १० जनाको परिवार छ । यही काम गरेर परिवार पालेकी छु”, उनले भनिन्, “सिजनमा खेतीपाती अधियासमेत लगाउँछौँ ।” “महिलाले दिनमा दुई बुन्न सक्छन्, महिलालाई घरको अन्य काम पनि हुन्छ । दिउँसोको समयमा बुन्ने हो”, यही काममा संलग्न मनिषा भूल भन्छिन्, “यसबाहेक बाँसको सहयोगमा बन्ने अन्य सामग्री पनि बनाउँछौँ । यस्ता काममा धेरै मेहेनत लाग्छ ।”

भागादेवी भूलको परिवारको खर्च पनि यही पेशाले चलेको छ । यसरी तयार भएको सुप्पा रु २५० देखि ४०० सम्ममा बिक्री हुन्छ । उनीहरुको घर खर्च चलाउन यही पेशाले सघाएको छ । यसरी तयार भएको सुप्पा उनीहरु पिठ्युमा बोकेर गाउँगाउँ बेच्न जान्छन् । कसैकसैले सुप्पालाई अन्नसँग पनि साट्ने गरेका छन् ।

उनीहरुलाई यो पेशा व्यावसायिक रुपमा गर्नका लागि सरकारले सहयोग गरिदिनुपर्ने माग छ । यसरी उत्पादन भएको सामग्री सहज बिक्री वितरणको व्यवस्था गरिदिए सहज हुने उनीहरु बताउँछन् । महिलाहरु हिँडेरै जानकी गाउँपालिकाबाट टीकापुर, लम्कीका विभिन्न गाउँगाउँ जान्छन् । “कहिलेकाहीँ बिक्री हुन्छ, कहिलेकाहीँ रित्तै घर फर्कनुपर्छ”, भागादेवीले भनिन्, “विपन्न दलित बस्तीका हामीले यो पेशा अग्रजबाट सिकेका हौँ ।”

मुनुवामा दलित बस्ती मात्र भएको त्यो टोलमा १५ परिवार दलित छन् । उनीहरु सबैको पेशा यही हो । उनीहरुले सुप्पा मात्र नभइ डोका, छिटनी, डिलियासमेत बनाउने गर्दछन् । यी सामग्री निर्माणका लागि बेत पनि आवश्यक पर्छ । उनीहरुले बेत सत्ती कर्णाली सामुदायिक वनबाट ल्याउने गरेका छन् ।

“यो परम्परागत सीप हो । यस्ता लोक कलालाई जोगाउन आवश्यक छ”, जानकी गाउँपालिकाका भद्रवीर चौधरी बताउँछन् । “मानिसको पहिचान उसको सीपले निर्धारण गर्छ”, उनले भने, “यस्तो सीप जोगाउन स्थानीय सरकारले ध्यान दिनुपर्छ । यो सीपलाई व्यावसायिकरूपमा परिमार्जन गर्न सहयोग गर्नुपर्छ ।” जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महत्तोले हाम्रो समाजमा परम्पराका रूपमा रहेका यस्ता सीपलाई परिमार्जन गर्न गाउँपालिका तयार रहेको बताए ।

‘‘यसको संरक्षण, प्रवद्र्धन तथा बजारीकरणको माध्यमबाट परम्परागत सीप विकास आवश्यक छ”, महतोले भने, “गाउँपालिका उहाँहरुको सीप विकास, व्यावसायिक विकासमा सहयोग गर्न तयार छ ।” रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर