काठमाडौं, वैशाख २० : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद बढ्दै जाँदा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सक्रिय रहनुपर्ने मुख्यमन्त्रीहरु प्रदेश छाडेर संघीय राजधानी काठमाडौंमा आइपुगेका छन् ।
पार्टी विवादमा आआफ्नो भूमिका खेल्नका लागि तीन मुख्यमन्त्रीहरु काठमाडौंमा आएका हुन् । उनीहरु पार्टी विवादका बारेमा आफ्ना समूह रक्षाका लागि खुलेर लागेका छन् । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल काठमाडौंमा छन् ।
उनीहरु एक सातायता सक्रिय रुपमा पार्टी विवादका विषयमा अभिव्यक्ति समेत दिँदै आएका छन् । पोखरेल एकसाता यता काठमाडौंमै छन् । गुरुङ र राई भने केहीं दिनअघि मात्रै काठमाडौं आइपुगेका हुन् ।
पोखरेल, गुरुङ र राई नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेता हुन् । पोखरेल र गुरुङ नेकपाको स्थायी समिति सदस्य हुन् भने राई केन्द्रीय सदस्य हुन् ।
ओली समूहका भएपनि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल भने हेटौडामै छन् । उनी नेकपाको केन्द्रीय सदस्य हुन् । प्रदेश नं. १ कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । त्यहाँको उदयपुरमा सबैभन्दा धेरै संक्रमित छन् । गण्डकी प्रदेशमा २ जना संक्रमित भए पनि उनीहरु निको भइसकेका छन् ।
प्रदेश नं. ५ मा शुक्रबार मात्रै २ जना कोरोना संक्रमित फेला परेका छन् । मुख्यमन्त्री पोखरेल काठमाडौंमै रहेको समयमा प्रदेशको अस्थायी राजधानी रुपन्देही र भारतीय सिमा क्षेत्र बाँकेमा एक एक जना संक्रमित भेटिएका हुन् ।
पूर्वमाओवादी तर्फका मुख्यमन्त्रीहरु भने आआफ्नै प्रदेशमा खटिएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पूर्वमाओवादी समूहका हुन् । ७ मध्ये ६ प्रदेशको मुख्यमन्त्री नेकपाका नेता छन् । ती ६ मुख्यमन्त्रीमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कोही पनि छैनन् ।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत संघीय समाजवादी पार्टीका नेता हुन् । संघीय समाजवादी र तराई मधेस लोकतान्त्रिक पार्टीबीच एकताको सहमति भइसकेको छ । पार्टी एकताका बेला मुख्यमन्त्री राउत काठमाडौं आएका थिए ।