लन्डन, वैशाख २१ : इंग्लिस प्रिमियर लिगका क्लबहरू सिजनका बाँकी खेल सक्न प्रतिबद्ध देखिएका छन् । क्लबका प्रतिनिधिबीच करिब चार घण्टा चलेको छलफलले बन्द रंगशालामा सिजनका बाँकी खेल सक्ने विषयमा क्लबहरू एकजुट देखिएका हुन् ।
बैठकले जुनबाट सुरु गर्ने तयारी गरिएको सिजनका बाँकी खेल ‘न्युट्रल भेन्यु’ अर्थात् तटस्थ भूिममा गर्ने सहमतिसमेत जुटाएको छ । बैठकले देशभरका सहरी क्षेत्रबाट बाहिर रहेका १० तटस्थ मैदानमा खेल खेलाउने सहमति जुटाएको हो । प्रिमियर लिगले सरकारसँग आफ्नो योजना स्वीकृतिका लागि पेस गर्ने तयारीसमेत गरेको छ । प्रिमियर लिगले मे १८ बाट अभ्यास सुरु गर्ने र जुन ८ बाट सिजनका बाँकी खेल सुरुवात गर्ने तयारी गरेको छ ।
वेस्टह्यामको लन्डन स्टेडियम, म्यानचेस्टर सिटीको इतिहाद स्टेडियम र आर्सनलको इमिरेट्स स्टेडियमलाई सम्भावित न्युट्रल मैदानका रूपमा हेरिएको छ । त्यस्तै, नर्विचको काररो रोड, बर्नमाउथको भिटालिटी स्टेडियम र भिल्ला पार्कलाई तटस्थ मैदान बनाउने विषयमा छलफल भएको छ ।
‘प्रिमियर लिगका सरोकारवाला पक्षबीच छलफल भएको छ । क्लबहरूले सिजनका बाँकी खेल सुरुवात गर्नका लागि सम्भावित कदमबारे आफ्नो राय राखेका छन् ।’ सबै विचार कोरोनाको महामारीबाट सिधै प्रभावित मानिसको साथमा छ । र, प्रिमियर लिगको प्राथमिकता खेलाडी, प्रशिक्षक, अफिसियल तथा समर्थकको स्वास्थ्य र सुरक्षा रहेको छ ।’ लिगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रिमियर लिगका सरोकारवालाको अर्को बैठक मे १८ मा बस्नेछ । त्यसअघि अफिसियल, म्यानेजरसहितको बैठकले बाँकी सिजनको बृहत् योजना तयार गर्नेछ ।
कोरोना भाइरस (काभिड–१९)कै कारण फ्रेन्च लिग र डच लिग रद्द गरिएको छ । कोरोना महामारीका कारण प्रिमियर लिग करिब दुई महिनासम्मका लागि स्थगित अवस्थामा छ । बैठकले लिग र क्लबबीच प्रशिक्षणको दौरान पालना गर्नुपर्ने नियम र देश बाहिरबाट आउने खेलाडीले कम्तीमा दुई साता एकान्तवासमा बस्नुपर्ने नियम बनाइएको छ । कोरोनाबाट बेलायत सबैभन्दा बढी प्रभावित हुने तेस्रो मुलुक हो । एजेन्सी